मदन भण्डारी र राजा वीरेन्द्रको ‘हत्यारा’ साँच्नै पत्ता लगाउने कि खोक्रो भाषण मात्रै गर्ने, प्रधानमन्त्रीज्यू ?

फाइल तस्वीर

विसं २०५० सालपछि नेकपा एमालेका धेरै नेता प्रधानमन्त्री भए । मनमोहन अधिकारी, माधवकुमार नेपाल, झलनाथ खनाल, केपी शर्मा ओली प्रधानमन्त्री बने । अन्य एकचोटि प्रधानमन्त्री बन्दा ओली दुईपटक प्रधानमन्त्री भए । प्रधानमन्त्री नखाएपनि एमाले पटकपटक सरकारमा गइसकेको छ।

जनवादी नेता मदन भण्डारीकी श्रीमती विभिन्न मन्त्री बनिन् । उनले दुईपटक राष्ट्र प्रमुखको भूमिका पनि निर्वाह गरिन् । दुर्घटनामा परेर मदन भण्डारीको २०५० जेठ ३ गते मृत्यु भयो । नेपालले एउटा जनवादी नेता गुमाएकोपनि ३० कटेर ३१ वर्ष लाग्यो । भण्डारीले दुर्घटनामा ज्यान गुमाए तर ड्राइभर अमर लामा भने जोगिए ।

त्यतिबेलै आम सर्वसाधारणलाई आशंका भइसकेको थियो, यो दुर्घटना नभई हत्या हो । यो विषयमा अहिलेपनि सर्वसाधारणले प्रश्न उठाइरहेका छन् । मदनलाई कसले मार्न लगाए ? यो कुरा थाहा भएका अमर मात्र थिए । अमर त्यो घटनामा न घाइते भए न उनलाई कुनै क्षति पुग्यो ।

गाडीबाट हाम्फालेका उनले कसैको निर्देशमा सो काम गरेको त त्यतिबेलै प्रष्ट भइसकेको थियो । अमर पछि जेल गए । जेलबाट निस्किएपछि उनले मदनलाई मार्नमा क–कसको हात छ ? भण्डाफोर गर्छु भनेर धम्की दिए । त्यति बोल्नेबित्तिकै दिँउसै उनको अपहरण भयो । काठमाडौंको कालिकास्थानमा हिँड्दै गरेका उनलाई अपहरण गरेर दिँउसै गोली हिर्काएर मारियो ।

अमरलाई कसले मारेको हो ? अहिलेसम्म सार्वजनिक भएको छैन् । यो कुरा भित्रभित्रै दबाइएको छ । त्यतिबेला मुलुकमा जनयुद्ध चलिरहेको थियो । यदि माओवादीले मारेको रहेछ भने स्वीकार्नुपर्यो । अन्य पार्टीले मारेको भए पत्ता लगाउनुपर्यो । नेपाल प्रहरी यो विषयमा किन मौन छ ?

अमर मर्नेबित्तिकै मदनको मृत्यु प्रकरण गुमसुम भयो । मदन एमालेका नेता थिए । तर, उनको मृत्यु प्रकरणमा एमाले किन बोल्दैन् ? सर्वसाधारणले ‘दालमा केही कालो भएको’ शंका गरेका छन् । एमाले बारम्बार सरकारमा गयो । मदनकै श्रीमती दुईपटक देशको राष्ट्रपति बनिन् ।

तर, कसैले यसको अनुसन्धान अघि बढाउन चाहेन्, किन ? सर्वसाधारणले त शंकाको सुइँ एमालेतर्फ लगेका छन् । मदन र अमर नेपाली नागरिक थिए । उनीहरुको बाँच्ने अधिकार खोसियो । यद्यपि, सरकारले अहिलेसम्म ‘अपराधी’ समात्न सकेको छैन् । मदनलाई जनताले मनबाटै आफ्नो नेता ठान्थें ।

जनताको अभिभावक मदन र अमरलाई मार्ने व्यक्ति को हो ? यसको छानबिन हुनुपर्छ । अहिले मुलुकको प्रधानमन्त्रीमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ थिए । प्रचण्डले नेतृत्व गरेको जनयुद्धकै क्रममा अमरको हत्या भएको हो । कि त प्रचण्डले अमर माओवादीले मारेको हो भनि स्वीकार गर्नुपर्यो, नत्र ‘अपराधी’ पत्ता लगाउनुपर्यो ।

प्रधानमन्त्री प्रचण्डले अब मदनको ‘अपराधी’ खोज्ने प्रक्रिया अघि बढाउनुपर्छ । राजनीतिक दलहरुलाई ‘अपराधी’ को हो ? भन्ने कुरा थाहा छ । तर, उनीहरु एकअर्काको जोगाऊमा छन् । अमरको हत्यारा समातिनेबित्तिकै मदनलाई मार्न लगाउनेको नाम खुलिहाल्छ । प्रहरीले मान्छे मारेर फरार भएको व्यक्तिलाई दशकौंपछि पनि समात्छ।

अहिले पनि २०–२५ वर्षपछि ज्यान मार्ने व्यक्तिहरु पक्राउ गरेको खबरहरु बाहिर आइरहेको हुन्छ । प्रहरीले उनीहरुले कहाँबाट समातेर ल्याउँछ । तर, मदन र अमरको घटनामा त अहिलेसम्म दोषी नै पत्ता लाग्न सकेका छैनन् । यसमा ठूलै चलखेल भएको कुरा घामजस्तै छर्लङ्ग छ।

राजनीतिक आडमा ‘अपराधी’ लाई लुकाइएको स्पष्ट छ । हरेक वर्ष मदनलाई सम्झिने गरिन्छ । उनी जति नेपालीमाझ भिजेका थिए, त्यति नै अन्तर्राष्ट्रिय स्तरमा पनि लोकप्रिय थिए । विदेशीले त उनको विषयमा चासो राख्छन् भने नेपालीले न नराख्ने कुरै भएन् । नेताहरुले मदन भण्डारीको बारेमा लामो भाषण गर्छन् ।

तर, उनको ‘हत्यारा’ खोज्ने चासो देखाउँदैनन् । सरकार नालायक साबित भएको अर्को काण्ड हो, ‘दरबार हत्याकाण्ड’। उक्त हत्याकाण्डमा राजा वीरेन्द्रको पूरा परिवार नै सखाप भयो। घटना घटेको २३ वर्ष बितिसकेको छ तर सरकारले दोषी पत्ता लगाउन सकेन्। देशको ‘राजा’ सहित उनको पूरा परिवारको हत्या हुनु सामान्य कुरा होइन् र हुनपनि सक्दैन्।

यस्तो गम्भीर विषयमा समेत सरकार मौन छ । त्यतिबेला दरबार र राजाको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको थियो । तर, सेना त चुक्यो । आफ्नै राजा त बचाउन सेनाले सुरक्षा गर्न सकेन् भने सेनाले देशको के सुरक्षा गर्छ ? वीरेन्द्रको सन्तान सकिएपछि ज्ञानेन्द्र राजा भए ।

यद्यपि, उनले पनि आफ्नो दाइको हत्यारा खोज्नमा चासो देखाएनन्। २०५८ जेठ १९ गतेभन्दा पछाडि धेरै नेता प्रधानमन्त्री भए । तर, राजा मारेको विषयलाई तिनले हलुकामा लिए । राजा वीरेन्द्रको हत्यारा नेताहरुले सार्वजनिक गर्न सकेनन् कि चाहेनन्, यो त तिनलाई थाहा होला ।

जनता आज पनि मदन भण्डारी र राजा वीरेन्द्रको हत्यारा खोजिरहेका छन् । नेपालमा विभिन्न तहका सुरक्षा निकाय छन् । जनताले तिरेको करबाट तलबभत्ता खाने र सेवासुविधा लिने कार्य मात्र सुरक्षाकर्मीले गरिरहेका छन् । नेपाली सेना, केन्द्रीय अनुसन्धान ब्यूरो, नेपाल प्रहरीले अहिलेसम्म दोषी पत्ता लगाउन नसक्नु लज्जास्पद छ।

जनता अहिलेसम्म शंकामै छन् । सत्यतथ्य के हो ? सरकार सार्वजनिक गर्दैन् । सर्वसाधारणको शंका एमाले र भूपू राजा ज्ञानेन्द्रतिर छ । अब सरकारले ‘अपराधी’ को हो ? जनतासामु ल्याउनुपर्छ । बुढापाकाले भन्छन्,‘भुक्ने कुकुरले टोक्दैन्, नभुक्नेले टोक्छ ।’ नबोल्नेले काम गर्छन् भन्ने त काठमाडौं महानगरका मेयर बालेन्द्र शाहबाट पुष्टि भइसकेको छ ।

वर्तमान प्रधानमन्त्री प्रचण्डले केही दिनअघि दरबार हत्याकाण्डको छानबिन गर्ने घोषणा गरेका छन् । तर, यो उनको घोषणामै सीमित हुने निश्चित छ । प्रचण्ड बोल्छन्, काम गर्ने त्यस्तै हो । दरबार हत्याकाण्डको दोषी पत्ता लगाउनलाई आँट चाहिन्छ । यो आँट अहिलेका नेताहरुमा देखिँदैन् ।

देशमा नागरिक समाज छ, विद्यार्थी संगठन छ, मानव अधिकारकर्मीहरु छन् । सरकारले गरेको कुनै निर्णय चित्त बुझ्ेन भने यिनीहरु सडकमा ओइरिहाल्छन् । आन्दोलनका क्रममा प्रहरीले हस्तक्षेप वा लाठीचार्ज मात्र गर्यो भने यिनीहरु नेपाल बन्दको घोषणा गर्छन् । सडकमा टायर बाल्छन् ।

तोडफोड गदै हिँड्छन्। एमालेको आफ्नै भातृ संगठन छ । तर, सो संगठन पनि यस विषयमा मौन छ । मदनको हत्यारा सार्वजनिक गर्न एमालेकै भातृ संगठन त तातेको छैन्। विद्यार्थी संगठन होस् या नागरिक समाज, यिनीहरुको उद्धेश्य चर्चामा आउने र माथि जाने मात्रै हो ।

यिनीहरु पार्टीको इसारामा चल्छन्। न यिनीहरुसँग आफ्नो कुनै सिद्धान्त छ न यिनीहरुले पार्टीभित्र भए–गरेका नराम्रा कुराको भण्डाफोर नै गर्न सक्छन्। एकअर्कामाथि हिलो छ्यापेर नेता बन्ने खेलमा लागेकाले केही गर्नेवाला छैनन् र गर्न पनि सक्दैनन् । एउटा सामान्य लेनदेनमा ज्यान लिएको घटनाहरु पनि थुप्रै छन्।

घरभित्र अंशबण्डाको कुरा नमिल्दा दाजुले भाइ र भाइले दाजुलाई मारेको घटना पनि छन्। अब यो त राजनीतिक खेल भयो । बुढापाकाले भन्छन्,‘एउटा नबिग्रिकन अर्को सप्रिदैन्।मदन र राजा वीरेन्द्रको हत्या प्रकरणमा पनि त्यही नै भएको देखिन्छ । विडम्बनाको कुरा के छ भने जनताले स्पष्ट देखेका छन् तर सरकारमा बस्नेहरुले देख्दैनन्।

प्रधानमन्त्री प्रचण्ड अबचाँहि तात्नैपर्छ । मर्ने मरेको मर्यै भयो, मार्ने व्यक्ति निष्फ्रिकी घुमिरहेको छ । तत्कालै कमिटी गठन गरेर कि छानबिन अगाडि बढाउनुपर्यो कि त खोक्रो भाषण नठोक्दा नै बेस होला !