आज नेपाल सेमिफाइनलमा लेवनानसँग भिड्दै

काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टोलीले वाफ महिला च्याम्पियनसिप २०२४ को सेमिफाइनलमा आज लेवनानको सामना गर्दैछ।

साउदी अरबको जेद्दास्थित प्रिन्स अब्दुल्लाह अल फैसल स्पोर्ट्स सिटीमा हुने खेल नेपाली समयअनुसार रातको १०:४५ बजे सुरु हुनेछ।

नेपाल समूह चरणमा शत प्रतिशत जितको नतिजा निकाल्दै समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो। लेवनानले भने समूह चरणमा २ जित र १ हारको नतिजा निकालेको थियो।

नेपालले पहिलो खेलमा सिरियालाई ४-१ ले पराजित गर्यो। दोस्रो खेलमा सावित्रा भण्डारी ‘साम्बा’ को ५ गोलमा नेपालले इराकलाई ५-० ले हरायो। अन्तिम खेलमा प्यालेस्टाइनमाथि ४-० को जितसँगै नेपाल समूह विजेता बनेको हो।

यता लेवनानले पहिलो खेलमा गुआममाथि ४-३ को प्रतिस्पर्धात्मक जित निकालेको थियो। त्यसपछि साउदीलाई २-३ ले हराएको लेवनान अन्तिम खेलमा भने जोर्डनसँग २-० ले पराजित भयो।

आज हुने पहिलो सेमिफाइनलमा प्यालेस्टाइन र जोर्डन खेल्नेछन्। प्रतियोगताको फाइनल विहीबार हुनेछ। साम्बा ३ खेलमा ८ गोलसहित प्रतियोगिताको सर्वाधिक गोलकर्ता सूचीमा अघि छिन्। दोस्रो स्थानमा ३ गोलसहित ३ खेलाडी छन्।