काँग्रेस र एमालेलाई जनताको प्रश्न,‘तपाईंहरुसँग क्षमता नभएर ३२ सीटेलाई देश चलाउने जिम्मा दिएको ?’

पञ्चायती व्यवस्थाविरुद्ध मुलुकमा पटकपटक आन्दोलन भयो । आन्दोलनका क्रममा धेरै जनता जेल बसे, शहिद भए। २०४६ सालमा ठूलो जनआन्दोलन भयो । जसले पञ्चायती व्यवस्था ढालेरै छोड्यो र बहुदलीय व्यवस्था आयो। बहुदलीय व्यवस्था चाहिन्छ भन्ने अधिकांश राजनीतिक दलका नेताहरु जेलमा थिए।

सो जनआन्दोलनपछि उनीहरु छुटे। २०४७ सालमा संविधान बन्यो। त्यसपछि पनि सूर्यबहादुर थापा र लोकबहादुर चन्द नै प्रधानमन्त्री भए। जबकी पञ्चायती व्यवस्थामा पनि यिनीहरु प्रधानमन्त्री थिए। व्यवस्थामा परिवर्तन भयो, तर नेतृत्व सम्हाल्नेको अनुहार भने उही।

यो किन भयो ? राजनीति सकिसकेका उनीहरु बहुदलीय व्यवस्थामा पनि प्रधानमन्त्री बन्नुको कारणचाँहि राजनीतिक दलको किचलो हो। नेपाली काँग्रेस र नेकपा एमालेको आपसी मनमुटावको फाइदा उनीहरुले उठाए। वर्तमान राजनीतिक अवस्था पनि ठ्याक्कै योसँग मिल्दोजुल्दो छ।

२०७९ मंसिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा काँग्रेस पहिलो र एमाले दोस्रो दल बन्यो। माओवादी त तेस्रो नम्बरमा छ। काँग्रेसले ८९, एमालेले ७८ र माओवादीले ३२ सीट ल्याएको छ । तर, काँग्रेस र एमाले मिलेन्। जसको फाइदा माओवादीले उठाइरहेको छ।

सरकार बनाउन १३८ जना सांसद चाहिन्छ। जबकी काँग्रेस र एमाले मिल्दा १६७ सांसद हुन्छन्। माओवादी त दूरदराजमा पनि देखिँदैन्। यद्यपि, ३२ सीट ल्याएको पार्टीकै अध्यक्षले देशको नेतृत्व सम्हालिरहेका छन्। जसलाई जनताले पत्याएनन्, उसलाई पार्टीले पत्याएपछि के गर्ने?

२१ सीट ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृहमन्त्री खाइरहेका छन्। १० सीटमै सीमित भएको नेकपा एकीकृत समाजवादी पार्टीको दुई नेताले मन्त्री पाएका छन्। उपेन्द्र यादवको जनता समाजवादी पार्टीले १२ सीट ल्याएको छ । सो पार्टी पनि सरकारमा गएको छ।

जनताले नपत्याएका भएभर मिलेर सरकार गठन गरेका छन्। टुक्राटुक्रा जोडेर सरकार बनेको छ । काँग्रेस र एमालेलाई पाखा लगाएर प्रचण्डले प्रधानमन्त्री र लामिछानेले गृहमन्त्री खाएका छन्। जसपा र एकीकृत समाजवादीले महत्वपूर्ण मन्त्रालय लिएका छन्। पदका लागि हानाथाप चलिरहँदा देशको अवस्था कसले हेर्छ ?

सबैलाई मन्त्री खान पाइन्छ कि पाइँदैन् ? भन्ने मात्र छ । सरकारमा जुनसुकै पार्टी गएपनि जनताको समस्या समाधान भएको होइन्। प्रचण्ड आएको १४ महिना भयो । तर, यो अवधिमा के भयो ? अर्थतन्त्र डामाडोल अवस्थामा छ । विडम्बना, पार्टीहरु सत्ताको खेलमै केन्द्रित छन्।

हरेक क्षेत्रमा समस्या देखिएको छ। आर्थिक मन्दीका कारणले व्यापार व्यवसाय धरासायी बनेको छ। कम्पनी, फर्महरु धमाधम बन्द भइरहेका छन्। लाखौं नेपाली रोजगारविहिन बनेका छन्। पसल थापेर गुजारा गर्दै आएकाहरु विदेश पलायन हुन बाध्य भएका छन्। देश छोड्नेको संख्या दिनप्रतिदिन बढ्दैछ।

राजनीतिक दलप्रति आम नागरिकको असन्तुष्टि बढ्दै गएको छ । जनतामा निराशा छाएको छ । तर, राजनीतिक दलहरुलाई मतलब छैन्। जनताले देश चलाउने जिम्मा काँग्रेस र एमालेलाई दिएको हो । माओवादी, एकीकृत समाजवादी, जसपा, रास्वपालाई जनताले देश चला भनेका त होइनन् ।

जनताको मतलाई पाखा लगाएर साना दलहरुले एकै ठाउँमा गाँसिएर सरकार बनेको छ। जसका कारण राजनीतिक किचलो धेरै भएको छ। यस्तो पाराले कसरी देश विकास हुन्छ ? सबै पार्टीको फरकफरक धारणा छ अनि कसको सुन्ने ? र के गर्ने ? भन्ने हुन्छ । सत्ता टिकाइराख्ने यो खेलले देश विकास हुन दिँदैन्।

जनता अहिले अप्ठेरो अवस्थाबाट गुज्रिरहेका छन्। मन्दीले सबैलाई समस्यामा पारेको छ। यो हेर्न छोडेर राजनीतिक दलहरु सरकारमा जान हारालुछ गरिरहेका छन्। २०६४ सालको निर्वाचनमा माओवादी पहिलो पार्टी बनेको थियो। चैत २८ गते भएको चुनावमा माओवादीका उम्मेदवार १२१ सीटमा प्रत्यक्ष निर्वाचित भएको थियो ।

थोरै मतान्तरले केही स्थानमा हारेका थिए । त्यही पार्टी आज ३२ सीटमा खुम्चिएको छ। पाँच दल गठबन्धन गरेर माओवादीले त्यति ल्यायो। माओवादी एक्लै चुनावमा भिडेको भए, दुई सीट पनि जित्दैन्थ्यो। माओवादीको नारायणमान बिजुक्छेंको मजदुर किसाान पार्टी र चित्रबहादुर केसीको राष्ट्रिय जनमोर्चाजस्तै हाल हुन्थ्यो।

चुनावले नै माओवादी जनताको नजरबाट गिरिसकेको पुष्ट्याइँ गरेको छ । तर, त्यही पार्टीका अध्यक्षले देश चलाइरहेका छन्। ठूला पार्टी भएर के गर्ने, सोच्न सक्ने दिमाग नभएपछि। जनताले काँग्रेस र एमालेलाई प्रश्न गर्छन्,‘तपाईंहरुले नसकेर ३२ सीट ल्याएको माओवादीलाई देश चलाउने जिम्मा दिएको हो ?’

प्रचण्डको १४ महिनाको काम जनताले देखिसकेका छन्। कहीँकतै सुधार नै देखिँदैन्। अब पनि प्रचण्डलाई नै सरकार चलाउने जिम्मा दिइरहने हो भने देश त सिद्धिन्छ। अर्थतन्त्र सुधार हुनुको साटो दिनदिनै बिग्रिँदै गएको छ। काँग्रेस आफू ठूलो पार्टी भनेर घमण्ड गरेर बसेको छ, एमालेलाई जसरी हुन्छ सरकारमा जानु छ ।

दुईटा पार्टी मात्रै मिले भनेपनि यो अहिले देखिएको राजनीतिक किचलोको अन्त्य हुन्छ। वर्तमान टुक्रे सरकारबाट एउटा पार्टी मात्रै छुट्यो भने फेरि भताभुङ्ग हुन्छ। राजनीतिक दललाई खुशी पार्दै र सरकार बनाउँदै समय बित्छ,अनि जनताको समस्याचाँहि कसले हेर्छ ? बरु एमालेलाई प्रधानमन्त्री दिएर हुन्छ कि काँग्रेस सरकारमा जानुपर्यो।

काँग्रेस र एमाले मिल्ने हो भने विदेशीले पनि पत्याउँछन्। अनुदान र ऋण दिन्छन्। जनताको निराशापन पनि हट्छ। माओवादीको क्रान्तिकारी रुप देखेकाले विदेशीले प्रचण्ड नेतृत्वको सरकारलाई पत्याउँदैन्। झन् यी साना पार्टीको त मुख पनि हेर्दैनन्। त्यसैले अब काँग्रेसले सरकारको डोरो समाउनुहुन्छ।

नत्र देश झनझन् अप्ठेरो अवस्थामा जान्छ । नेता जहिलेपनि त्यागी हुनुपर्छ। आफू हारेर भएपनि देश र जनता बचाउने मात्रै नेता हुन्। यतिबेला जनताले काँग्रेसका नेता स्वर्गीय गिरिजाप्रसाद कोइरालालाई सम्झिन्छन्। उनले माओवादीलाई शान्ति वार्तामा ल्याए। त्यो नगरेको भए आजसम्म लाखौं शहिद भइसक्थें।

गिरिजाले आफ्नो पार्टी हेरेनन्, देश र जनता हेरे। काँग्रेसका सभापति शेरबहादुर देउवाले पनि गिरिजाकै भूमिका निर्वाह गर्नुपर्छ । देश, जनता र अर्थतन्त्र जोगाउन देउवाले भूमिका खेल्नुपर्छ। प्रचण्डले अबको ३० दिनभित्र सदनबाट विश्वासको मत लिनुपर्छ। त्यो अवधिअगावै काँग्रेसले आफ्नो खेल खेलिसक्नुपर्छ।

काँग्रेससँग समय छ, एमालेलाई प्रधानमन्त्रीको प्रस्ताव गर्ने कि अन्य कुनै उपाय लाउने ? देउवाको हातमा छ। यो अप्ठेरो घडीमा पनि नेताहरु आमुनेसामुन्ने भएर बस्ने हो भने देश बर्बादको मोडमा जान्छ । जोसँग आफ्नै पार्टी मिलाउने क्षमता छैन्, उसले यत्रा जनता मिलाउँछ ?

विप्लव, वैद्य, बाबुराम भट्टराई सबै फुटेर गए, किन ? माओवादी त ठूलो दल थियो । तर, एकपछि अर्को गर्दै सबै निस्किए। किन कि उनले आफ्नो स्वार्थ मात्र हेरे। अरुको नसुन्ने,आफ्नो मात्र चलाउने भएपछि कसले रुचाउँछ ? नेताको अनुहार हेरेर बजार चलिरहेको छ। अर्थमन्त्री विष्णु पौडेल हुने भन्नेबित्तिकै शेयरको मूल्य आकाशियो।

तर, वर्षमान पुन आउने भएपछि शेयर बजारमा पुनः निराशा छायो। लगानीकर्ताहरुले पनि माओवादीलाई रुचाउँदैनन् भन्ने त घामजस्तै छर्लङ्ग भएको छ। काँग्रेसको निर्णय अहिले निकै महत्वपूर्ण छ। त्यसैले काँग्रेसले ढिलाइ गर्नुहुँदैन्। काँग्रेस प्रतिपक्षमा होइन्, सत्तापक्षमा बस्नुपर्छ। हामी विपक्षमा बस्छौं भन्ने अधिकार जनताले काँग्रेसलाई दिएका छैनन्।

यो स्मरण गरियोस्। पहिलो पार्टीले प्रतिपक्षमा बस्छु भन्ने मिल्छ ? साना पार्टीले देशलाई गन्तव्यमा पुर्याउन सक्दैन् भन्ने कुरा सबैले बुझिसकेका छन्। प्रचण्ड त यता मिलेर हुन्छ कि उता टाँसिएर, आफू प्रधानमन्त्री खाइरहने दाउमा छन्। प्रचण्डलाई तह लगाउन दुईटा दल एकजुट भए पुग्छ।