नयाँ समीकरण बनेकै दिनबाट दक्षिणपन्थी शक्ति चलखेल र षड्यन्त्रमा: झलनाथ खनाल

फाइल तस्वीर

काठमाडौं। एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नयाँ समीकरण बनेकै दिनबाट दक्षिणपन्थी शक्तिहरू चलखेल र षड्यन्त्रमा लागेको बताएका छन्।

विगतको गठबन्धनले अघि सारेका नीति, कार्यक्रम र बजेटले जनता र राष्ट्रको कुनै पनि आधारभूत समस्याहरूलाई सम्बोधन गर्न नसकेकाले नयाँ समीकरण आवश्यक भएको औंल्याएका छन्।

खनालले शनिबार विज्ञप्तिमार्फत् सरकारका कार्यभार औंल्याएका हुन्।

‘यतिबेला विश्वको परिस्थिति अत्यन्त तनावयुक्त बन्दै गएको छ। भूराजनीतिक शक्तिहरू बीचको प्रतिस्पर्धा तीव्र बनिरहेको छ। त्यसले गर्दा द्वन्द्व, हिंसा र युद्धका क्षेत्रहरू फैलिरहेका छन्।

कतै विश्व युद्ध त हुने होइन भन्ने आशंका देखिन थालेको छ। हाम्रो देशको रणनीतिक महत्वका कारणले भूराजनीतिक शक्तिहरूको चासो दिन प्रतिदिन बढिरहेको छ।

यस्तो स्थितिमा हामीले मुलुकको सर्वोपरि राष्ट्रिय हितलाई ध्यानमा राख्दै सन्तुलित विदेश नीतिलाई अख्तियार गर्दै हाम्रा अन्तर्राष्ट्रिय सम्बन्ध र सहयोगहरुलाई अघि बढाउनु पर्ने चुनौतिपूर्ण आवश्यकता हाम्रा सामु छन्,’ उनले भनेका छन्।

ठीक त्यसरी नै आज मुलुकमा व्यवस्था परिवर्तन भए पनि जनताको अवस्थामा परिवर्तन भएन भन्ने गुनासो चर्को गरी फैलिरहेको उनको बुझाइ छ।

यस्तो अवस्थामा देशका श्रमजीवीहरू, भूमिहीन, गरिब र सुकुम्बासी जनताका समस्याहरू समाधान गर्न भूमिसुधार गर्नुपर्ने खाँचो उनले औंल्याएका छन्।

कृषि उत्पादनलाई व्यापक बनाउने, कृषि क्रान्तिलाई अघि बढाउनुपर्ने, मुलुकलाई राष्ट्रिय औद्योगीकरणको दिशामा अघि बढाउनुपर्ने, शिक्षा र स्वास्थ्यमा आमूल परिवर्तन गर्नुपर्ने, मंहगी र मूल्य वृद्धिलाई नियन्त्रण गर्नुपर्ने, भ्रष्टाचारलाई माथिदेखि तलै सम्म निर्ममतापूर्वक नियन्त्रण गर्नुपर्ने, हर क्षेत्रमा रोजगारी सिर्जना गर्नुपर्ने, राष्ट्रिय अर्थतन्त्रको हित अनुरूप भन्सार नीति बनाउनुपर्ने, वित्तीय र मौद्रिक नीतिमा सुधार गर्नुपर्ने, राष्ट्रिय उद्यमहरूको संरक्षण गर्नुपर्ने आवश्यकता छ,’ उनले भनेका छन्।

पूर्वप्रधानमन्त्री खनालले देशको निजामती र जङ्गी प्रशासनलाई लोकतान्त्रिकरण गर्नुपर्ने बताएका छन्।

 सबैतिर सुशासन कायम गर्नुपर्ने, राज्यले दिने सेवालाई प्रभावकारी बनाउनुपर्ने, हाम्रा दुवै छिमेकीहरूबाट निर्बाध पारवहन सुविधा प्राप्त गर्नुपर्ने कार्यभार रहेको पनि उनले बताएका छन्।

त्यस्तै, पग्लिरहेको हिमालको संरक्षण गर्नुपर्ने, फैलँदो प्रदूषणबाट वातावरणको संरक्षण गर्नुपर्ने, मुलुकलाई गरिबी उन्मूलनको दिशामा अघि बढाउनुपर्ने पनि बताएका छन्।

‘मुलुकको विकास निर्माणको कामलाई तीव्रता प्रदान गर्नुपर्ने, मुलुकको भूभाग र सिमानाको दृढतापूर्वक रक्षा गर्नुपर्ने जस्ता चुनौतीपूर्ण कामहरू हाम्रासामू छन्।

यी कामहरूलाई नै यो नयाँ सरकारले आफ्नो कार्यभारका रूपमा लिनुपर्ने छ। के उपरोक्त कार्यभारहरू यो सरकारले सफलतापूर्वक पूरा गर्न सक्छरु सक्नुपर्छ।

यो सरकारलाई दायाँबायाँ गर्ने कुनै छुट छैन,उनले भनेका छन्,यद्यपि यो सरकार बनेकै दिनदेखि यसलाई असफल पार्न दक्षिणपन्थी शक्तिहरू विभिन्न प्रकारका चलखेल र षड्यन्त्रमा लागिसकेका छन।

कतिपय पार्टीहरू भित्रै पनि षड्यन्त्रका तानाबाना बुनिँदैछन्। यी चुनौतीहरूले वर्तमान गठबन्धनलाई अझ घनिष्ठ रूपले एकताबद्ध हुन र अग्रगमनकारी नीति लिएर अघि बढ्न थप मद्दत पनि गर्नेछ।

वर्तमान राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिप्रति गम्भीर बन्दै सरकारमा रहेका सबै घटक माझको नीतिगत एकतालाई बलियो बनाउनुपर्ने उनले बताएका छन्।

त्यस्तै,मिटरब्याजपीडित र दुग्ध किसानहरूका समस्या तुरुन्त समाधान गर्न र मुलुकलाई संविधानको भावना अनुरुप समाजवादको दिशामा अघि बढाउन नयाँ गठबन्धनको सरकार दृढ भएर अघि बढ्नुपर्ने उनको भनाइ छ।