कालीकोटमा आगोले जलेर घाइते बाबु-छोरीको मृत्यु

सांकेतिक तस्वीर

सुर्खेत। कालीकोटमा आगोमा जलेर घाइते बाबु छोरीको उपचारका क्रममा मृत्यु भएको छ। खाँडाचक्र नगरपालिका-५ दाम्रीको नवदुर्गा सामुदायिक वनमा आगलागी हुँदा जलेर गम्भीर घाइते सोही ठाउँका ५० वर्षीय नन्दराम चौलागाईं र उनकी १२ वर्षीया छोरी हेमन्तीको मृत्यु भएको हो।

यही चैत २ गते बाख्रा चराउन गएको बेला गाउँ नजिकैको सामुदायिक वनमा लागेको डढेलोमा परेर बाबुछोरी गम्भीर घाइते भएका थिए। उनीहरुलाई उपचारको लागि गत शनिबार साँझ हेलिकोप्टरबाट कर्णाली प्रदेश अस्पतालमा सुर्खेत ल्याइएको थियो।

यसअघि सोमबार दिउँसो छोरीको र बुवाको बुधबार बेलुका उपचारको क्रममा मृत्यु भएको प्रदेश अस्पतालका अफिस सेक्रेटरी दिपक गिरीले जानकारी दिए।

जलेर गम्भीर घाइते भएका नन्दरामको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।