दुर्गा प्रसाईँका अङ्गरक्षकलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं। सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँका अङ्गरक्षकलाई रिहा गर्न आदेश दिएको छ। मंगलबार सर्वोच्चका न्यायाधीश नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले सर्वोच्च अदालत परिसरबाट हतियारसहित पक्राउ परेका प्रसाईँका दुई जना अङ्गरक्षकलाई रिहा गर्न आदेश दिएको हो।

प्रसाईँका अङ्गरक्षकद्धय रामकुमार धिमाल र दीपक खड्कालाई चैत ५ गते सर्वोच्च अदालतबाट पक्राउ गरेको थियो । प्रहरीले उनीहरूको साथबाट हतियार, १ सय राउण्ड गोली बरामद गरेको थियो। लाइसेन्स सहितको हतियार बोक्दा प्रहरीले पक्राउ गरेका भन्दै उनीहरुले सर्वोच्चमा रिट दायर गरेका थिए।

आदेशमा भनिएको छ,निवेदकलाई दिएको जरुरी पक्राउ पुर्जी,थुनुवा पुर्जी तथा म्याद थपको आदेश तथा पत्र लगायतका काम,कारबाही र निर्णय उत्प्रेषणको आदेशले बदर गरी निवेदकलाई गैरकानूनी चुनाबाट आजै मुक्त गरिदिनु भनी विपक्षीहरूका नाउँमा बन्दी प्रत्यक्षीकरण आदेश जारी हुने ठहर्छ।

यस्तै सर्वोच्चले इजाजतप्राप्त हतियार इजाजात पत्रको शर्तबमोजिम बोकी हिँडेको कार्यलाई प्रचलित कानुनले कसुर कायम गरेको नदेखिएको उल्लेख गरेको छ।