गौतमश्री बहुउद्देशीय सहकारी समस्याग्रस्त घोषणा

काठमाडौं। गौतमश्री बहुउद्देशीय सहकारी संस्था समस्याग्रस्त घोषण भएको छ। सहकारी विभागको सिफारिसमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले १३ चैत मंगलबार सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो।

गौतमश्री सहकारी संस्थाले सहकारी एने नियम,मूल्य र मान्यता विपरीत कार्य गरी बचकर्ता सदस्यको बचत फिर्ता नगरेको सम्बन्धमा कारबाही हुँदा सहकारी ऐन अनुसार समस्याग्रस्त घोषणा भएको मन्त्रालयले जनाएको छ।

‘हकारी ऐन, २०७४ को दफा १०४ को उपदफा (१) को खण्ड (क) देखि (च) सम्मको अवस्था विद्यमान रहेको देखिएकोले सहकारी विभागका रजिष्ट्रारको सप्रस्ताव सहितको सिफारिसमा सोही ऐनको दफा १०४ को उपदफा (२) बमोजिम उक्त सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरी संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानी सम्बन्धी कार्य गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइएको छ,विज्ञप्प्तीमा भनिएको छ ।

डेढ वर्षअगाडि नै गौतमश्रीलाई सहकारी विभागले समस्याग्रस्त घोषणा गर्न सिफारिस गरे पनि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आंशिक रूपमा सञ्चालन गर्न दिने निर्णय गरेको थियो। राजनीतिक संरक्षणमा सहकारीलाई समस्याग्रस्त हुनबाट बचाइएको थियो।

सहकारी विभागमा सहकारी संस्थाका सेयर सदस्य बचतकर्ताले बचत फिर्ता नपाएको भन्दै उजुरी गरेपछि १९ साउन २०७९ मा विभागले संस्थालाई समस्याग्रस्त घोषणा गर्न सिफरिस गरेको थियो। तर, सहकारी मन्त्रालयले संस्थालाई समस्याग्रस्त घोषणा गर्नेभन्दा पनि पुनः अध्ययन गर्नू भन्दै विभागमा फिर्ता पठाएको थियो ।

विभागले संस्था सञ्चालन गरेर बचतकर्ताको दायित्व फिर्ता गर्न नसक्ने देखिएकाले समस्याग्रस्त घोषणा गर्नुपर्ने भन्दै पुनः दोस्रोपटक पनि मन्त्रालयमा सिफारिस गरेको थियो। तर, मन्त्रालयले समस्याग्रस्त घोषणा गर्नुको साटो आंशिक सञ्चालनको अनुमति प्रदान गर्‍यो।

गौतमको नाममा रहेको सम्पत्ति र सहकारीको कर्जाबाट टाढाबाठा बचकर्ताले आफ्नो बचत फिर्ता दिने र मजदुर तथा साना बचकर्ताको बिचल्ली भएकाे थियो।