उपप्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गर्ने नेविसंघका कार्याकर्ता पक्राउ

सांकेतिक तस्वीर

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले चलाउनेमाथि आक्रमण गर्ने रविन लामालाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भुपेन्द्र खत्रीले चलाउनेलाई आक्रमण गर्ने लामालाई टोखाबाट पक्राउ गरिएको जानकारी दिए।

यस मुद्दाका अन्य प्रतिवादीहरु पुनरावेदनमा गएको तर लामा पुनरावेदन नगएकाले पक्राउको बाटो खुलेको थियो। सोही अनुसार लामाविरुद्ध पक्राउ पूर्जी जारी भएपछि पक्राउ गरिएको एसएसपी खत्रीले बताए।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश विनोद खतिवडाको इजलासले ७ मंसिर २०८० चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई २ वर्ष कैद सजाय सुनाएको थियो।

नेपाल विद्यार्थी संघ त्रिवि इकाइका तत्कालिन सभापति हरिप्रसाद आचार्य, सचिव योगेन्द्र रावल,रुपेश साह,रविन लामा,सयुज श्रेष्ठ,निरज रानामगरलाई उपप्राध्यापक चलाउनेको ज्यान मार्न खोजेको आरोपमा दोषी ठहर भएका थिए।

उनीहरुबाट पीडितलाई २८ लाख रुपैयाँ क्षतिपूर्ति भराउने आदेश समेत भएको थियो। अर्का आरोपित आरोपित दीपक ओझाले भने सफाइ पाएका थिए।

२० असोज २०७७ मा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा समाजशास्त्रका उपप्राध्यापक चलाउनेमाथि आक्रमण भएको थियो।

नेपाल विद्यार्थी संघको त्रिभुवन विश्वविद्यालय क्याम्पस इकाइका सभापति हरिप्रसाद आचार्य र सचिव योगेन्द्र रावलको नेतृत्वको समूहले उपप्राध्यापक चलाउनेमाथि आक्रमण गरेको थियो ।

आक्रमणमा परी उपप्राध्यापक चलाउनेको टाउको,छाती,घाँटी र तिघ्रामा चोट लागेको थियो। आक्रमणपछि उपप्राध्यापक चलाउने एक महिनाभन्दा बढी अस्पतालमा उपचार गराएर घर फर्किएका थिए।

ज्यान मार्ने उद्योगको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन रहेको अवस्थामा गृहमन्त्रालयको प्रस्तावमा सरकारले आरोपितहरुविरुद्धको मुद्दा फिर्ता लिने निर्णय लिएको थियो।

मुद्दा फिर्ता लिने निर्णय विरुद्ध उपप्राध्यापक प्रेम चलाउने सर्वोच्च अदालत गएका थिए। सर्वोच्च अदालतले मुद्दा फिर्ता लिने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्नु भनी अन्तरिम आदेश दिएको थियो।

अन्तरिम आदेशपछि जिल्ला अदालतले आरोपितहरु विरुद्धको मुद्दाको फैसला गरेको थियो ।