नेपालले महिला एसिया कप क्रिकेट खेल्ने

फाइल तस्वीर

काठमाडौं । नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले एसीसी महिला एसिया कप खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो सामाजिक सञ्जालमा एसीसीले आठ टोलीको प्रतियोगिता बनाएर नेपाललाई पनि समेटेको जानकारी दिएको छ।

गएको फेब्रुअरीमा भएको एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा नेपाल मलेसियासँग पराजित भएको थियो।

यो हारसँगै नेपाल श्रीलङ्कामा हुने एसिया कपमा छनोट हुन सकेको थिएन।

प्रिमियर कपमा फाइनल खेलेका दुई टोली यूएई र मलेसिया सिधै एसिया कपमा पुगेका थिए। तर, एसीसीले आठ टोलीको प्रतियोगिता बनाएसँगै नेपाल र थाइल्याण्डले मौका पाएका हुन्।

अब नेपाली महिला टोलीले तेस्रो पटक एसिया कप खेल्नेछ। यसअघि सन् २०१२ र २०१६ मा नेपाली महिला टोलीले एसिया कप खेलेको थियो। एसिया कपको समूह ‘ए’ मा नेपालसँगै भारत, पाकिस्तान र यूएई छन्।

नेपालले आउँदो जुलाई १९ मा पाकिस्तान, जुलाई २१ मा यूएई र जुलाई २३ मा भारतसँग खेल्नेछ।

त्यस्तै समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का, मलेसिया र थाइल्याण्ड छन्।