मुलुकलाई ट्यागमा ल्याउन बालेनलाई प्रधानमन्त्री बनाउने हो कि ?

फाइल तस्वीर

मुलुकमा झण्डै दुई दशकपछि स्थानीय निर्वाचन भयो। २०५४ सालमा स्थानीय निर्वाचन भएको थियो। त्यसपछि लामो समयसम्म स्थानीय निर्वाचन भएन। तर, २०७४ सालमा स्थानीय निर्वाचन भयो। सो चुनावबाट काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेका नेता विद्यासुन्दर शाक्य निर्वाचित भए।

उनले जनताको घरदैलोमा भोट माग्न जाँदा आफुलाई मेयरमा निर्वाचित गराए सय दिनमा एक सय दुई वटा काम गर्ने वाचा समेत गरेका थिए।

यद्यपि, मेयर बनेपछि कामभन्दा पनि सहकारी र यातायात व्यवसायीहरुको कार्यक्रममा अतिथि बन्न पुग्थे, उनी। पाँच वर्षमा जनता र देशको हितका लागि हुने एउटा पनि काम उनले गरेनन्।

०७९ वैशाख ३० गते फेरि स्थानीय चुनाव भयो। एमालेलाई शाक्यलाई टिकट दिएन। केशव स्थापितलाई दियो। स्थानीय चुनावको बेला राजधानीमा फोहोर डङ्गुर भयो।

महिनौंदेखि फोहोर उठाइएको थिएन। किनकि फोहोरमाथि पनि राजनीति भइरहेको थियो। राजनीतिक दलहरुले फोहोरलाई एजेण्डा बनाएर जनतासँग भोट मागिरहेका थिए।

चुनावबाट काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्रबट उठेका बालेन्द्र शाह (बालेन) निर्वाचित भए। र, स्थापितलाई जनताले पत्याएनन्।

यसअघि नै २०५४ सालमा स्थापित काठमाडौंको मेयर भइसकेका थिए। उनले मेयर हुँदा काम गर्न नसकेको बारे जनता प्रष्ट थिए। त्यसकारण पनि उनलाई जनताले भोट दिएनन्।

बालेनले ६३ हजारभन्दा बढी भोट ल्याएर चुनाव जिते। चुनाव जितेपछि उनले काठमाडौंको फोहोर नउठाएसम्म अबिर, माला, खादा नलगाउने र कुनै पनि सार्वजनिक कार्यक्रममा नजाने घोषणा गरे। सोहीअनुरुप उनले आफ्नो कार्यभार सम्हाले। राजधानीमा महिनौं दिनदेखि थुपारिएको फोहोर उनले उठाएरै छोडे।

बञ्चरेडाँडाका स्थानीयहरुसँग वार्ता गरी फोहोर व्यवस्थापन गरेरै छोडे। बालेन मेयरमा निर्वाचित भएको २३ महिना भयो। यो अवधिमा उनले थुप्रै काम गरेका छन्। बालेनको कामबाट बच्चादेखि बुढासम्म हर्षित छन्। नेपालका जनता मात्र होइनन्,विदेशी समेत उनको काम देखेर दंग छन्।

केही महिनादेखि ठूला राजनीतिक दलहरु (नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायत) गोप्य रुपमा बैठक बसे। बालेनले आफुहरुको राजनीति सिध्याइदिने उनीहरुमा अहिले पनि डर छ।

राजनीति दलहरुले बञ्चरेडाँडाका स्थानीयलाई उचालेर फोहोर फ्रयाल्न नदिने, सुकुम्बासी र फुटपाथ व्यवसायीलाई पनि उचालेर उनीहरुलाई हटाउन गएको नगर प्रहरीलाई समेत कुट्न लगाउनेजस्ता काम गरे।

राजनीतिक दलहरुले आफुलाई जतिसुकै असफल बनाउन खोजेपछि बालेन हरेस खाएनन्। उनी डराएनन् र काम पनि गर्न छोडेनन्। राजनीतिक दलहरुले ५० औं वर्षसम्म गर्न नसकेका कामहरु बालेनले २३ महिनामै गरेर देखाए। अहिले देशभरका जनताको मुखमा बालेनको नाम छ।

प्रचण्ड सरकारले नेपाली कांग्रेससँगको गठबन्धन तोडेर नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादी, जसपासँग नयाँ गठबन्धन गरेको पनि महिनौं दिन हुन लागिसक्यो।

रास्वपाका सभापति रवि लामिछाने गृहमन्त्री भएको पनि झण्डै एक महिना हुन लागिसकेको छ। उनले सरकार बाहिर हुँदा आफु एक दिन मात्र गृहमन्त्री भए थुप्रै निर्णय र काम गर्ने दाबी गर्थे।

बिडम्वना, उनले करोडौं जनताको खर्बौ रकम खाने सहकारीका सञ्चालक,कर्मचारीहरुलाई समेत समात्न सकेका छैनन्। बजारमा कालोबजारी गर्ने,सिण्डिकेट लगाउनेलाई समेत कानूनको दायरामा ल्याउन सकेका छैनन्। सरकार बाहिर हुँदा के के न गर्छु भन्ने हुटहुटी देखाउने उनी आज गृहमन्त्री हुँदा केही पनि गर्न सकेका छैनन्।

यसले नै उनी जनताको लागिभन्दा पनि सत्ताको लागि राजनीतिमा आएको समेत स्पष्ट हुन्छ। यता, अर्थमन्त्री वर्षमान पुनले पनि अहिलेसम्म एउटा काम गरेका छैनन्।

बजार पूरै मन्दीमा गइसक्यो। घरजग्गा, गाडी र सेयरको किनबेच छैन। व्यापारव्यवसाय पनि ठप्पै छ। सहकारी त डुबिहाल्यो। अहिले बैंक पनि डुब्ने अवस्थामा पुगेको छ।

राज्यको ढुकुटीमा राजस्व आउन छोडिसक्यो। आम्दानीभन्दा बढी खर्च छ। विदेशी ऋण २७ खर्ब पुगिसक्यो। बैंकमा पैसा निकाल्ने सर्वसाधारणको भीड बढिरहेको छ।

बजारमा पनि पाँच सय र हजारको नोट हाहाकार भइसकेको छ। सर्वसाधारण, व्यापारी सबैले पैसा लुकाइसके। अर्थमन्त्री पुनले अहिलेसम्म खर्च कटौती गर्ने निर्णय गरेका छैनन्।

सरकारी कर्मचारी र जनप्रतिनिधिहरुको तलबभत्ता र सेवासुविधा कटौती गर्नेतर्फ उनको ध्यान नै गएको छैन। उनी पनि जनता र राष्ट्रको हितमा काम गर्न होइन,पार्टी र आफ्नो स्वार्थका लागि मन्त्री बनेको यहीबाट प्रष्ट हुन्छ। त्यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले पनि अहिलेसम्म सिको भाँचेका छैनन्।

चार दशकदेखि कालो र हरियो प्लेटको ट्याक्सीको दर्ता बन्द छ। ट्याक्सी अभावका कारण सर्वसाधारणले विभिन्न समस्या झेल्दै आएका छन्। काठमाडौं उपत्यकामा करोडमाथि जनसंख्या छ। तर, ट्याक्सीको संख्या जम्मा नौं हजार छ। ट्याक्सी नहुँदा व्यवसायीहरुको दादागिरी बढेको छ।

ट्याक्सी व्यवसायीहरु मिटरमा यात्रु बोक्दैनन्। न त यात्रुले भनेको ठाउँमा नै जान मान्छन्। आम सर्वसाधारण व्यवसायीले जे भन्यो त्यति नै तिरेर थोत्र्रा, पुराना र कबाडी ट्याक्सीमा यात्रा गर्न बाध्य भइरहेका छन्। यद्यपि, यसतर्फ यातायातमन्त्रीको ध्यान गएको छैन। उनले सर्वसाधारणको पीडा देखेपनि नदेखेझैं गरिरहेका छन्।

यी तीनै जना पहिला पनि मन्त्री भइसकेका हुन्। यीनीहरुमा काम गर्ने क्षमता छैन भनेर पनि जनतालाई पहिल्यै थाहा थियो। तर, पार्टीले यीनीहरुलाई दोहोर्याएर मन्त्री दियो। मन्त्री भएपछि जनता र राष्ट्रको हितमा काम गर्नुको साटो कोही होली खेल्न गइरहेका छन् त कोही खादा लगाउनमै व्यस्त छन्।

मन्त्री भएपछि एक मिनेटको पनि सदुरुपयोग गर्नुपर्छ। तर, यहाँ त मन्त्री भएर कोही होली खेल्न गएको देखिन्छ त कोही कार्यक्रममै व्यस्त हुन्छन्। पुष्पकमल दाहाल प्रचण्ड तीन पटक प्रधानमन्त्री भए।

बिडम्वना, उनले देश र जनताले सम्झिने गरी एउटा पनि राम्रो निर्णय गर्न सकेका छैनन्। आफ्नो कुर्सी जोगाउन उनी कहिले काँग्रेस त कहिले एमालेसँग टाँसिन्छन्।

केपी ओली दुई पटक प्रधानमन्त्री भए। र, लामो समयसम्म प्रधानमन्त्री पदमा बसे । प्रधानमन्त्री हुँदा उनले पनि एउटै राम्रो काम गरेनन्। शेरबहादुर देउवा पनि पाँच पटक प्रधानमन्त्री भए। माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई पनि प्रधानमन्त्री भएका थिए।

प्रधानमन्त्री हुँदा जनता र राष्ट्रको हितका लागि काम गर्नुपर्नेमा उल्टै नेपाल र भट्टराईको मिलेमतोमा बालुवाटारको ललिता निवासको सयौं रोपनी सरकारी जग्गा व्यक्तिको नाममा पास गरियो। यति मात्र होइन थानकोटको मातातीर्थ र चावहिल कालोपुलको सरकारी जग्गा पनि व्यक्तिको नाममा पास गरियो।

यता, खनालले सर्प पाल्ने र उपचार गर्ने नाममा जनताले तिरेको अर्बो कर झवाम बनाइदिए। अहिले देश नै रहन्छ कि रहँदैन ? भन्ने बहस जनतामा सुरु भइसकेको छ। प्रधानमन्त्री प्रचण्डले सरकारी कर्मचारीलाई मासिक रुपमा नभई घण्टाको हिसाबमा तलब दिने र सेवासुविधा कटौती गर्ने निर्णय पनि गरेका छैनन्।

बैंकमा सर्वसाधारणले राखेको रकम जोखिममा छ। चिन्ताका कारण भोक र निन्दा नै हराएको छ, बचतकर्ताहरुको। सेयर, गाडी र घरजग्गा लगानी गर्नेहरु पनि डुबेपछि धमाधम भागेका छन्।

कसैले त आत्महत्या पनि गरेका छन्। ०६९ सालमा राजनीतिक दलहरुले चुनाव गराउन नसकेपछि प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा सरकार गठन गरियो।

उनले चुनाव गराए। अनि राजनीतिक दलहरुलाई सरकार हस्तान्तरण गरेर बाहिरिए। त्यतिखेर नै राजनीतिक दलहरु असफल भइसकेको यसले देखाउँछ।

अहिलेका राजनीतिक दलहरुले अब देश बचाउन सक्दैनन्, अर्थतन्त्र सुधार्न सक्दैंनन् भनेर जनताले बुझिसके। त्यसकारण अब राजनीतिक दलहरुले सत्ताबाट बाहिरिएर बालेनलाई प्रधानमन्त्री दिनुपर्छ।

किनकि बालेनसँग देशलाई बचाउने भिजन छ। उनीसँग मुलुकलाई ट्यागमा ल्याउन सक्ने क्षमता छ। त्यसैले, अब राजनीतिक दलहरुले नैतिकताकै आधारमा सत्ताबाट बाहिरिएर बालेनलाई देशको प्रधानमन्त्री बनाउनुपर्छ।