पहुँचको आधारमा बजेट छुट्याउने परिपाटी अन्त्य हुन्छ: अर्थसचिव

काठमाडौं। अर्थसचिव डा. कृष्णहरि पुष्करले आगामी आर्थिक वर्षको बजेटमा पहुँचको आधारमा बजेट छुट्याउने परिपाटिको अन्त्य हुने बताएका छन्।

आईतवार सिंहदरबारमा बसेको संघीयता प्रबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले यस वर्ष बजेट निर्माण प्रक्रिया विगतको तुलनामा पूरा परिवर्तन भएको बताए। उनले शक्ति र पहुँचको आधारमा बजेट विनियोजन हुने काम यस वर्षबाट पूर्ण रुपमा बन्द हुने प्रतिबद्धता जनाएका हुन्।

आगामी आर्थिक वर्षका लागि जुनसुकै योजना, परियोजनामा बजेट छुट्याउँदा सम्बन्धित मन्त्रालयबाट आउनुपर्ने प्राविधिक कुराहरु पूरा गरेको हुनुपर्ने र प्रोजेक्ट बैंक तथा योजना आयोगमामा रहेको एमटिइएफ सिस्टममार्फत भएर आएका योजनाहरु मात्रै समावेश गरिने उनको भनाइ छ।

अर्थ मन्त्रालयले सम्बन्धित मन्त्रालयलाई राष्ट्रिय योजना आयोगले दिएको सिलिङ भित्र योजना बनाउन आग्रह गरेको पनि उनले बताए।

अर्थसचिव पुष्करले बजेटमा देखिएका आर्थिक शिथिलताको अन्त्य गर्ने, वित्तीय संस्थानहरुको विसंगतिहरुलाई पनि मुक्त बनाउने, संघीयता कार्यान्वयन र सार्वजनिक संरचनालाई सबलीकरण गर्ने,संघीयताप्रतिको जनताको आश र भरोसा जगाउने गरी नयाँ बजेट निर्माण हुने बताए। उनले बजेटमा महिला सहभागिताको विषय र दुर्गम क्षेत्रका कुरामा बढी केन्द्रित हुनेगरी बनाइने पनि बताए।

कर्णालीको विकासका लागि मानव सूचकांकमा पछि परेका क्षेत्रहरुको लागि विशेष खालका प्याकेजहरु दिने,रुपान्तरणकारी योजनाहरु अघि बढाउने,ससाना योजनाहरुलाई खारेज गर्ने, सम्पन्न हुन लागेको आयोजनालाई पूरा गर्ने,राष्ट्रिय गौरवका आयोजनाहरुमा चाहिने जतिको सबै साधन श्रोत सुनिश्चित गर्नेगरी अर्थ मन्त्रालयले काम गरिरहेको उनको भनाइ छ।