महालक्ष्मी विकास बैंक र एनआईसी एसिया क्यापिटलबीच सम्झौता

काठमाडौं । महालक्ष्मी विकास बैंक र एनआईसी एसिया क्यापिटल लिमिटेडबीच बैंकका ग्राहकहरूको व्यवस्थित लगानी योजनामा पहुँच अभिवृद्धि गर्ने विषयमा सहकार्य गर्ने सम्झौता भएको छ।

एनआईसी एसिया क्यापिटलद्वारा सञ्चालित खुलामुखी योजना –एनआईसी एसिया डाइनामिक डेप्ट फन्डको महालक्ष्मी विकास बैंकले वितरण एजेन्टको रूपमा कार्य गर्न एक समझदारी पत्रमा हस्ताक्षर भएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

महालक्ष्मी विकास बैंकको शाखा सञ्जालहरूको अधिकतम उपयोग गरी लगानीका अवसरहरूको थप विस्तार तथा विविधीकरण हुने लक्ष्यसहित यो समझदारी भएको बैंकको भनाइ छ।

देशभर रहेका लगानीकर्ताहरूको एनआईसी एसिया डाइनामिक डेप्ट फन्डमा सहज पहुँच भई वित्तीय समावेशीता तथा वित्तीय सशक्तीकरणको माध्यमबाट समग्र वित्तीय क्षेत्रमा योगदान पुग्ने विश्वास समेत लिइएको छ।

हाललाई यो सेवा बैंकको दरबारमार्ग शाखामार्फत र क्रमशः देशभरका शाखा कार्यालयहरु मार्फत प्रदान गरिनेछ।

‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्षदेखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ वटा शाखा कार्यालय र करिब ७ लाख ग्राहक रहेकाछन्।