लुम्बिनीमा महरालाई मुख्यमन्त्री बनाउने चार दलको पाँच बुँदे सहमति

काठमाडौं। लुम्बिनी प्रदेशमा नेकपा (माओवादी केन्द्र) संसदीय दल नेता जोखबहादुर महरालाई नयाँ मुख्यमन्त्री बनाउनेसहित दलहरूबीच पाँच बुँदे सहमति भएको छ।

माओवादी, नेकपा (एमाले), जसपा, नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्र सांसद खड्ग बस्नेतले महरालाई मुख्यमन्त्री बनाउनेसहित सहमतिमा हस्ताक्षर गरेका हुन्।

लुम्बिनीमा अहिले नेपाली कांग्रेस संसदीय दल नेता डिल्लीबहादुर चौधरी मुख्यमन्त्री छन्। उनले बहुमत जुटाउन नसक्ने देखेपछि पदबाट राजीनामा दिने तयारी गरेका छन्।

संघीय सरकार बनाएको गठबन्धनका दलहरू नयाँ मुख्यमन्त्री महरालाई बनाउन सहमत भएका हुन्।

उनीहरूबीच प्रदेश सरकारबाट हुने राजनीतिक नियुक्तिमा सरकारमा सहभागी सबै राजनीतिक दलहरू अपनत्व हुने गरी गर्नेलगायत सहमति पनि गरेका छन्।