शिक्षामन्त्री श्रेष्ठद्वारा प्रगति विवरण सार्वजनिक,शिक्षामा सुधार गर्न ४ वटा कार्यदल गठन

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उच्च शिक्षामा देखिएको समस्या समाधान गर्न चार वटा कार्यदल गठन गरेको छ। शिक्षामन्त्री सुमना श्रेष्ठले आफ्नो एक महिने प्रगति विवरण सार्वजनिक गर्दै चार वटा कार्यदल गठन गरेको बताएकी हुन्।

उनका अनुसार छात्रवृत्ति सम्बन्धी कानुनको पुनरावलोकन गर्ने सम्बन्धी उच्चस्तरीय समिति गठन गरिएको छ। जसमा विश्वविद्यालय अनुदान आयोग, राष्ट्रिय योजना आयोग,अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयका पदाधिकारी संलग्न छन्। प्रतिवेदन बुझाउने समयावधि एक महिना रहेको मन्त्री श्रेष्ठले जानकारी दिइन्।

राष्ट्रिय परीक्षा सञ्चालन सम्बन्धी निर्देशिका तर्जुमा सम्बन्धी कार्यदल पनि गठन गरिएको छ। मन्त्री श्रेष्ठका अनुसार कार्यदललाई प्रतिवेदन बुझाउने समयावधि १५ दिनको दिइएको छ।

विदेशी सम्बन्धनका कलेजहरूको व्यवस्थापन सम्बन्धी निर्देशिका संशोधन सम्बन्धी कार्यदल मन्त्रालयले गठन गरेको छ । यो कार्यदललाई पनि प्रतिवेदन बुझाउने समयावधि १५ दिनको दिइएको छ।

त्यस्तै शिक्षक सेवा आयोग नियमावली संशोधन सम्बन्धी अध्ययन गर्न कार्यदल गठन गरिएको मन्त्री श्रेष्ठले बताइन् । यसलाई पनि १५ दिनको समय दिइएको छ।