वेस्ट इन्डिजको ए क्रिकेट टिम नेपाल आउने

काठमाडौं। आइसिसी टी-२० विश्वकप २०२४ अघि नेपालले वेस्ट इन्डिजको ए क्रिकेट टिमसँग सिरिज खेल्ने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार वेस्ट इन्डिजको ए क्रिकेट टिम र नेपालबीच अप्रिल २५ देखि सिरिज सुरू हुनेछ।दुई टिमले कीर्तिपुरस्थित त्रिवि मैदानमा पाँच टी-२० खेल खेल्ने छन्।

हाल नेपाली क्रिकेट टिम भारतमा छ। भारतमा फ्रेन्डसिप कप खेलेको नेपाली क्रिकेट टिम ओमान प्रस्थान गर्ने कार्यक्रम छ। ओमानमा नेपालले एसिसी प्रिमियर कप खेल्दैछ। कपपछि नेपाल र वेस्ट इन्डिजबीच सिरिज हुन लागेको हो।

वेस्ट इन्डिजसँग सिरिज खेलेपछि नेपाली टिम टी-२० विश्वकपका लागि अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ। अमेरिका र वेस्ट इन्डिजमा जुन पहिलो सातादेखि टी-२० विश्वकप हुँदैछ। विश्वकपमा नेपाल समूह डी मा छ।