च्याउ टिप्न गएका ३ बालक डढेलोमा परेर गम्भीर घाइते

काठमाडौं। डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सामुदायिक वनमा लागेको डढेलोमा परेर तीन जना बालक गम्भीर घाइते भएका छन्।

च्याउ टिप्न गएका १२, १३ र १० वर्षका तीन बालक घाइते भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले अनलाइनखबरलाई बताए। उनका अनुसार, दिउँसो घर नजिकै रहेको सामुदायिक वनमा च्याउ टिप्न जाँदा उनीहरु डढेलोमा परेका थिए।

गम्भीर घाइते उनीहरुलाई जिल्ला अस्पताल, दुनै ल्याइएको थियो। दुनैमा थप उपचार सम्भव नहुने भएपनि हेलिकोप्टरमार्फत उद्दार गरेर नेपालगञ्ज ल्याउने प्रयास भइरहेको छ। तर, मौसमका कारण हेलिकोप्टर अवतरण गर्न समस्या भइरहेको प्रमुख जिल्ला अधिकारी दाहालले बताए।

डोल्पामा गएको सोमबार मष्टाभवानी सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा जार जना सैनिक समेत गम्भीर घाइते भएका थिए। तीमध्ये दुई जनाको उपचारका क्रममा निधन भएको छ। थप दुई जनाको उपचार जारी छ।