सुदूरपश्चिममा सिस्नो खेलेर बिसु पर्व मनाइँदै

धनगढी। सुदूरपश्चिम प्रदेशमा बिसु पर्व सिस्नो खेलेर मनाइँदैछ। नयाँ वर्षको पहिलो दिन वैशाख १ गतेलाई सुदूरपश्चिमबासीले बिसु पर्वका रुपमा मनाउने परम्पराअनुसार सिस्नु खेलेर मनाउने गर्दछन्। बिसु पर्व मनाउन घर बाहिर रहेकाहरु फर्किएपछि यहाँका गाउँबस्तिमा रौनकता छाएको छ।

बिसु पर्वमा मिठा-मिठा खानाका परिकार खाने र सिस्नो लगाउने प्रचलन रहेको छ। आजको दिन सिस्नो लगाउँदा वर्षभरी काम गर्ने क्रममा शरीरमा रहेका सबै प्रकारका बिष निस्कृय हुने जनविश्वास रहेको छ।

वैशाख सुरु भएसँगै रोगव्याधी, महामारी र अनिकालको समय शुरु हुने भएकाले त्यसको सुरक्षाका लागि सिस्नो लगाउँदै घरपरिवारका सदस्यसँगै बसेर बिषु मनाउने प्रचलन रहेको संस्कृतिबिद बताउँछन्।

१ गते संक्रान्तिको दिन बिहानै नुहाएर सिस्नो लगाउने प्रचलन छ। यसरी सिस्नो लगाउँदा अघिल्लो वर्ष आफ्नो शरीरमा कुनै विष लागेको भए त्यसबाट मुक्त भइने र नयाँ वर्षमा जुनसुकै बिशालु जीवहरुबाट बाचिन्छ भन्ने धार्मिक विश्वास छ।

आजको दिन खासगरी

देवर-भाउज्र, नन्द-भाउजू, साली-भिनाजु, फुपु-सालीहरुका बिचमा सिस्नो पानी छ्याप्दै बिसु पर्व मनाउने चलन छ।

यस दिन सुदूरका बिभिन्न समुदायमा लौरो नचाउने,बाघ भालु जस्ता जंगली जनावरहरुको जस्तै अभिनय गर्ने चलन पनि रहेको छ। यस्तो गर्दा जंगली जनावरहरुबाट हुने आक्रमणबाट बच्ने बिश्वास रहेको छ।