लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद विस्तारको तयारी, को-को बन्दैछन् मन्त्री

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन्। चैत २३ मा मुख्यमन्त्री नियुक्त हुँदा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबाट एकरएक जनालाई विनाविभागीय मन्त्रि बनाएका महराले आज दोस्रोपटक मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन्।

सरकारका प्रवक्ता दीपेन्द्र पुनले आज दिउँसोसम्म मन्त्रिपरिषद् विस्तार हुने र सांझ ५ बजे शपथग्रहण हुने बताए ।माओवादीबाट रोल्पाका दीपेन्द्र पुन मन्त्री बनिसकेका छन् । उनले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

त्यस्तै एमालेबाट संसदीय दलका उपनेता अर्घाखाँचीका चेतनारायण आचार्य मन्त्री छन् । सहमति अनुसार आचार्यले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन्। जसपाबाट भण्डारीलाल अहिर मन्त्री छन्। उनले कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका छन्।

एमालेले पाँच मन्त्रालय पाएको छ। जसमा अब रुपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, कपिलवस्तुका अर्जुनकुमार केसी र बाँकेका रत्नबहादुर खत्री मन्त्री बन्दैछन्।

ढकालले सहकारी विकास, पन्थीले गृह, केसीले वन र खत्रीले सामाजिक विकास मन्त्रीको जिम्मेवारी पाउने एमाले स्रोतले बतायो।

माओवादीबाट थप एक जना बाँकेकी कृष्णा केसी मन्त्री बन्ने स्रोतले जनाएको छ। केसीले सिँचाइ, ऊर्जा तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाउने बताइएको छ। नागरिक उन्मुक्ति पार्टीले भौतिक पूर्वाधार विकास मन्त्रालय पाउने छ। तर सो दलभित्र कसलाई मन्त्रीको रूपमा पठाउने भन्ने टुंगो लागिसकेको छैन।

लुम्बिनीमा मुख्यमन्त्रीसहित दश मन्त्रालय छन्। अहिलेको भागबन्डा अनुसार दुईवटा मन्त्रालय थप्नुपर्ने देखिन्छ।
यता जसपालाई २ मन्त्रालय दिने लिखित सहमति भएपनि सहमति पालना नगरेको भन्दै पार्टी सरकारमा नजाने प्रदेश अध्यक्ष अशोक यादवले बताए।

त्यस्तै स्वतन्त्र सांसद खड्ग बस्नेतले पनि मन्त्रीको शपथ लिने प्रवक्ता पुनले बताए। नेकपा एस पनि सरकारमा सहभागी हुन्छ या हुँदैन टुंगो लागिसकेको छैन।

एकीकृत समाजवादीबाट प्रदेश सभामा रुपन्देहीकी भगवती अधिकारी मात्रै सांसद छन्। मुख्यमन्त्रीमा नियुक्त हुनुअघि दलहरूको बीचमा जसपालाई दुई, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र सांसद खड्ग बस्नेतलाई पनि सरकारमा सहभागी गराउने लिखित सहमति भएको थियो।

सहमतिअनुसार पार्टीलाई सरकारमा सहभागी गराउनेबारे कुनै छलफल नगरिएको नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश कार्यालयका सचिव सुदन खनालले बताए।