राष्ट्रिय विकास परिषदको बैठक आज बस्दै

काठमाडौं। राष्ट्रिय योजना आयोगले तर्जुमा गरेको अल्पकालीन,दीर्घकालीन वा आवधिक विकास योजना छलफलका लागि राष्ट्रिय विकास परिषदको बैठक आज बस्दै छ।

बैठकले सरकारको १६ औं योजनालाई अन्तिम रूप दिनेछ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बस्ने बैठक आज बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म होटल याक एण्ड यतीमा हुने छ।

बैठकलाई आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डसहित पूर्वप्रधानमन्त्रीहरु र राजनीतिक दलका शीर्ष नेतासम्मले सम्बोधन गर्ने छन्।

बैठकको उदघाटन सत्रमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। मीनबहादुर श्रेष्ठले सोह्रौं योजनाको मस्यौदा प्रस्तुत गर्ने छन्। त्यसपछि बैठकमा सहभागीहरुले आफ्नो मन्तव्यसहित मस्यौदा माथिको छलफलमा भाग लिने छन्।

बैठकमा प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सम्बोधन गर्ने छन्।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवम् गृहमन्त्री रवि लामिछाने,जसपा अध्यक्ष एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादव, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवम् पूर्वमन्त्री रन्जिता श्रेष्ठले पनि सम्बोधन गर्ने छन्।

छलफलमा विभिन्न क्षेत्रका विज्ञ र निजी क्षेत्रका प्रतिनिधिहरु सहभागी हुनेछन्। सहभागीहरु समूहगत छलफलमा सहभागी भई सोह्रौं योजनाको मस्यौदा आवश्यक सुझाव प्रस्तुत गर्नेछन्। कार्यक्रमको समापन सत्रमा सातै प्रदेशका मुख्यमन्त्रीहरुले सम्बोधन गर्ने छन्।