मुलुकको शान्ति सुरक्षा र अपराध नियन्त्रणमा उल्लेख्य काम : महानिरीक्षक खनाल

काठमाडौँ, पुस ९ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीले मुलुकको शान्ति सुरक्षा र अपराध नियन्त्रणमा उल्लेख्य काम गरेको बताउनुभएको छ ।

 

महानिरीक्षक खनालले आज प्रहरी प्रधान कार्यालयमा पत्रकार सम्मेलन गरी शान्ति सुरक्षा, अपराध अनुसन्धान, प्रशासनिक गतिविधि, तालीम, आर्थिक नियमितता, भौतिक पूर्वाधार, अन्तर्राष्ट्रिय सम्बन्ध र समुदाय–प्रहरी साझेदारीको क्षेत्रमा महत्वपूर्ण काम गरेको बताउनुभएको हो ।

 

उहाँले प्रहरीले भर्खरै ल्याएको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रममा ७४५ स्थानीय तहसँग समझदारी गर्नुका साथै छ हजार २१ वटा विभिन्न किमिसका समिति गठन गरेको जानकारी दिनुभयो । “प्रहरीले समुदायसँग मिलेर काम गर्ने उद्देश्यले अगाडि ल्याइएको कार्यक्रमबाट विभिन्न फरार अपराधीसमेत कारवाहीमा परेका छन्”, उहाँले भन्नुभयो ।

 

प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम लागू गरेपछि २० नाल अवैध हातहतियार, १५ राउण्ड गोली, ७३२ फरार अपराधी पक्राउ, २२५ किलोग्राम गाँजा बरामद, ठूलो मात्रामा घरेलु मदिरासमेत बरामद गरेको छ ।

 

उहाँले बिमस्टेक सम्मेलन, एशिया प्यासिफिक सम्मेलन लगायतका ठूला सम्मेलनमा शान्ति सुरक्षाको राम्रो व्यवस्था मिलाइएको बताउनुभयो । आठ महीनामा ४३ किलोग्राम सुन बरामद, विभिन्न घटनामा एक हजार ८२६ जनालाई मुद्दा दर्ता, १५२ नाल हतियार, २८३ राउण्ड गोली बरामदसमेत गरेको बताउनुभयो ।

 

प्रहरीले अपराध गरेर विदेशमा फरार रहेकालाई १४ वटा रेड नोटिस र १६ वटा डिफ्युजन नोटिस जारी गरी पाँच जनालाई पक्राउ गरेको छ । महानिरीक्षक खनालले मुलुकी अपराध र फौजदारी कार्यविधि संहिता ऐनलाई कार्यान्वयनमा नेपाल प्रहरी लागिरहेको स्पष्ट पार्नुभयो । सङ्घीय प्रहरी ऐन मस्यौदाको लागि प्रहरीको तर्फबाट राय समेत पेश गरिएको महानिरीक्षक खनालले जानकारी दिनुभयो ।

 

प्रहरीले पुराना सवारी साधन लिलाम तथा नयाँ खरीद प्रक्रियालाई अगाडि बढाएको छ । प्रहरी कारवाहीलाई प्रभावकारी तथा मानव अधिकारमैत्री बनाउन सातवटा ‘वाटर क्यानन’ खरीद कार्यलाई अगाडि बढाउनुका साथै मोटरसाइकल तथा सवारी साधन खरीद गरेको छ ।

 

सातै प्रदेशमा प्रदेश कार्यालय तथा तालीम केन्द्र स्थापनाका लागि सबै प्रदेशमा जग्गासमेत प्राप्त भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सरकारको बजेटबाट १७, डिएफआइडी परियोजनाबाट २० र एडीवीको सहयोगमा ८ जिल्लामा नयाँ भवन निर्माण भएको प्रहरीले जनाएको छ ।

संयुक्त राष्ट्र सङ्घ शान्ति स्थापना मिसन कार्यालयमा महिला कर्मचारी सहभागी सङ्ख्या २० प्रतिशत पु¥याउने प्रतिबद्धतासमेत भएको महानिरीक्षक खनालले बताउनुभयो । केही महिना पहिला बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारालाई खोज्न प्रहरी इमान्दार प्रयासका साथ लागिरहेको उहाँले बताउनुभयो । “हामीले घटनालाई विभिन्न पाटोबाट अध्ययन गरिरहेका छौँ, कानूनले कसैलाई ठूलो र सानो भन्दैन, एकदिन अपराधी पत्ता लागेरै छाड्छ”,महानिरीक्षक खनालले भन्नुभयो । रासस