राजर्षि जनक विश्वविद्यालयबारे आयोजित कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत। तस्बिर: देशसञ्चार

जनकपुरधाम- प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नव स्थापित राजर्षि जनक विश्वविद्यालय प्रदेश लाई शैक्षिक हब बनाउन सहायक हुने बताएका छन्।

मुख्यमन्त्री राउतले परम्परागत शिक्षाले प्रदेशलाई समृद्ध बनाउन नसक्ने उल्लेख गर्दै यस विश्वविद्यालय प्राविधिक शिक्षामा केन्द्रित हुनु पर्ने समेत बताएका छन्।

शनिवार जनकपुरमा आयोजित राजर्षि जनक विश्वविद्यालयको दृष्टिकोण, उद्देश्य र लक्ष्य विषयक अन्तर्क्रिया कार्यक्रममा विश्वविद्यालयका सहकुलपति समेत रहेका मुख्यमन्त्री राउतले भने, ‘प्रदेश २ सरकारले यसै प्रदेशलाई प्राविधिक शिक्षाको हवको रुपमा विकास गर्ने निति लिएको छ र उक्त नीतिलाई व्यवहारमा ल्याउन राजर्षि जनक विश्वविद्यालयको भूमिका प्रमुख रहने विश्वास छ।’

लामो प्रयासपछि स्थापित विश्वविद्यालयको स्थापनामा भूमिका निर्वाह गर्ने राजनीतिक कर्मी र विद्वत वर्गलाई धन्यवाद दिँदै मुख्यमन्त्री राउतले राजर्षि जनक विश्वविद्यालयलाई उत्कृष्ट बनाउन प्रदेश सरकारले हरसम्भव प्रयासगर्ने प्रतिबद्धता जनाएका छन्।