एक हिरो– जो फिल्ममा मात्रै होइन, यथार्थमै विपन्नका सारथी बने

ललितपुर,चैत्र ३०। उनी आफूलाई कलाकार ठान्छन्, दुईवटा चर्चित फिल्ममा हिरोको सफल भूमिका निभाए पछि उनि छिट्टै परिचित पनि भएका थिए, फिल्मकै कारण । सात–आठ वर्षअघि निर्माण भएका दुई चलचित्रमा राज घिमिरेले निभाएको भूमिकालाई दर्शकले खुबैै रुचाए । उनले अभिनय गरेका लुट र चपलिहाइट फिल्मले उनीलाई मात्रै नयाँ उचाईमा पु¥याएको थिएन, नेपाली फिल्म जगतलाई नै आधुनिकतातर्फ मोडेको थियो । यी दुई फिल्मबाट उनलाई धेरैले ठम्याए ।

 

त्यसयता भने उनी पर्दामा देखिएनन् । कलाकारहरु कलाकारितामै सिमित हुनपर्छ भन्ने भ्रम उनले तोडिदिएका छन्, सामाजिक कार्यमा लागेर । पछिल्ला वर्षहरुमा उनी सामाजिक कार्यमा मोडिएका छन् । पर्दामा हिरोको भूमिका निभाएका घिमिरे पछिल्ला वर्षहरुमा गाउँ र विपन्न केन्द्रित भएर काम गर्दै आइरहेका हुन् । कलाकारहरुले कथाहरु सिर्जना गर्दामात्रै दुःखी पात्र खोज्ने तर तीनै कथाका दुःखी पात्रलाई परेको बेला सहयोग गर्न तत्पर नरहेकोप्रति आपत्ति जनाए । उनले भने्’, ‘सामाजिक सहयोग र मन फैलाउनु पनि कलाकारिता हो, हामीले दुःखीलाई हेरेनौं भने उनीहरु कसरी बाच्ने ?

 

चलचित्र क्षेत्रका अघिकांश कलाकारहरु कोरोना संक्रमणबाट सुरक्षित रहन होम क्वारेन्टाइनमा बसिरहेका बेला एकजना नायक भने विहानैदेखि दुःखी गरिबको सेवामा खटिरहेका छन् । व्यक्तिगत समस्या र कोरोनोको त्रासलाई प्रवाह नगरी नायक घिमिरे यतिखेर ललितपुरको गोदावरी क्षेत्रमा राहत वितरण र जनचेतना फैलाउन सक्रिय देखिएका हुन् ।
राजनीतिककर्मी र स्थानीय सरकारको उपस्थिति नभएको ठाउँमा उनको उपस्थिति देखिएको छ । सरकारको राहत पर्खिएर बसेका स्थानीयलाई उनैले खुशी पार्दै आइरहेका छन् । एकाविहानैदेखि उनी आफ्नो निजी सवारीमा माइक घन्काउँदै स्थानीयको घर दैलो समक्ष पुग्छन् । ग्रामिण क्षेत्रका वासिन्दालाई कोरोनाको चेतना मात्रै दिँदैनन् विपन्नको दैलोमै खाद्यान्न लगायत अत्यावश्यक वस्तु पु¥याउने गरेका छन् । यतिमात्रै होइन, उनले गोदावरी नगरपालिकाको कोरोना राहत संकलन कोषलाई ५५ हजार हस्तान्तरण गरेका छन् । कलाकारले सहयोग गरेको देखेपछि अन्य राजनीतिककर्मीहरुले पनि रातह कोषमा रकम जम्मा गर्न लागेको गोदावरी नगरपालिकाले जनाएको छ ।

 

महामारीको बेला गरिबको अवस्थालाई ख्याल गर्दै उनी घरघरमा पुगेपछि स्थानीय पनि दंग छन् । उनले खाद्यान्न मात्रै वितरण नगरी कोरोना फैलन नदिनको लागि पम्पमार्फत स्थानीयको घरघरमा किटनाशक औषधि छर्किएका छन् । सरकारले भित्रै बस्न आग्रह गरेपछि सिमित ठाउँमा बसेर दैनिकी गुर्जान असहज परेकाहरुलाई सहयोग गर्दै आइरहेका नायक घिमिरेले बताए । ‘म कलाकार हुँ, मलाई अन्य कुनै लोकप्रियता चाहिएको छैन, संकटको बेला दुःखी गरिबहरु चपेटामा नपरुन् भन्ने सोच हो,’ उनले सुनाए । उनले गोदावरी र बागमती गाउँपालिकाका ग्रामिण भेगमा पुगेर ५० बोरा भन्दा बढी चामल वितरण गरिसकेका छन् । त्यस्तै कोरोना भाइरसको संक्रमणबाट जोगिन साबुन, स्यानिटाइजर, मास्क, पन्जालगायत साम्रगी स्थानीयलाई वितरण गर्दै आइरहेका छन् । कुनै संस्थासँग नजोडिएका घिमिरेले आफ्नो व्यक्तिगत रकम विपन्नको लागि खर्च गरेका हुन् ।

 

राजनीतिक व्यक्तिहरु देखा पर्नुपर्ने ठाउँमा अहिले घिमिरे नै अग्रसर भएर लागिपरेका छन् । उनी आफूलाई सुरक्षित राख्न उनी हातमा पञ्जा, मास्क, चस्मा लगाउँछन् । राहत सामग्री हस्तान्तरण गर्दा उनी सामाजिक दुरी कायम राख्छन् र कोहीसँग झ्याप्पै नजिक पर्दैनन् । अलि परै बसेर सहयोग गर्छन् । सरकारले घरबाहिर ननिस्कनु भनेतापनि गरिबलाई राहत प्याकेज नछुट्याउँदा उनीहरुलाई दैनिकी गुर्जान असहज भइरहेकोले आफू गाउँ गाउँ पुगेको उनको भनाई छ । १५ दिन यता गोदावरी नगरपालिकाका १ देखि ४, १०, १३ र १४ वडामा घिमिरेले कोरोना संक्रमणबारे माइकिङ तथा राहत सामग्री उपलब्ध गराएका हुन् । ललितपुरको दक्षिणी भेगमा पर्ने भट्टेडाँडा र छपेली क्षेत्रमा पनि उनी माइकिङ गर्र्दै पुगेका थिए । सरकारले कोरोना संक्रमणको भयलाई ध्यानमा राख्दै सर्वसाधारणलाई घर बाहिर ननिस्कनु भनेको छ । तर, दैनिक परिश्रम गरेर छाक टार्दै आएका सर्वसाधारणलाई यतिबेला दैनिकी गुजार्न कठिन भइरहेको अवस्था छ । सरकारले ज्याला मजदुरी गरेर खाने सर्वसाधारणको लागि कुनै राहत प्याकेज घोषणा गरेको छैन । ‘यतिबेला सहर र गाउँको माहोल बेग्लाबेग्लै छ, सहरमा मानिसहरु घरभित्रै छन्, उनीहरुको अवस्था देख्दा दयनीय लागेर सहयोग गर्न लागेको हुँ,’ उनले भने ।