पठनपाठन कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा अनुसन्धान सुरु

काठमाडौँ, वैशाख १ । कोरोना भाइरस(कोभिड–१९) को जोखिम न्यून गर्दै विश्वविद्यालय तथा विद्यालय तहको पठनपाठन कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा विज्ञले अनुसन्धान सुरु गरेका छन् । सङ्क्रमणको अवस्थाकै बीचमा पनि अध्ययन अध्यापन कार्य कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा विज्ञका बीच अध्ययन गर्न छलफल सुरु भएको हो ।

 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले नेपाल खुला विश्वविद्यालयका उपकुलपति प्रा।डा। लेखनाथ शर्माको संयोजकत्वमा हालै गठन गर्नुभएको शिक्षण विधि तथा विकल्प उपसमितिले यसबारेमा अध्ययन अघि बढाएको हो ।

 

कोरोनाको सङ्क्रमणका बारेमा हाल कुनै अनुमान नै गर्न नसकिने र यसको प्रभाव लामो समयसम्म पर्ने अवस्थामा विद्यार्थीको पठनपाठन कसरी अगाडि बढाउने तथा त्यसको सम्भाव्यता कस्तो हुन्छ भन्ने विषयमा उपसमितिले अध्ययन गर्न थालेको छ ।

 

सो उपसमितिलाई कोभिड–शैक्षिक क्यालेन्डर, अनलाइन कक्षा सञ्चालन, प्रयोगात्मक अभ्यास, पाठ्यक्रम, तालिम, परीक्षा सञ्चालन र निरीक्षण लगायतका योजना बनाउने र मन्त्रालयलाई सुझाव दिने जिम्मेवारी दिइएको छ । उपसमितिका संयोजक तथा खुला विश्वविद्यालयका उपकुलपति शर्माले सङ्कटको यस घडीको व्यवस्थापन गर्दै समग्र शैक्षिक क्यालेन्डरकै बारेमा अध्ययन गरिने जानकारी दिनुभयो ।

 

सरकारबाट जारी गरिएको बन्दाबन्दी (लकडाउन) तथा सामाजिक दूरी कायम गर्ने विषय कति समयसम्म रहन्छ भन्ने आधारमा शैक्षिक क्यालेन्डर बनाउनुपर्ने अवस्था रहेको उहाँको भनाइ छ । विभिन्न विश्वविद्यालयका पदाधिकारी, शिक्षा मन्त्रालय तथा राष्ट्रिय परीक्षा बोर्ड लगायतका पदाधिकारी सम्मिलित सो उपसमितिले झन्डै एक महिनाभित्र मन्त्रालयलाई सुझाव दिने तयारी गरेको छ ।

 

कोरोनाको सङ्क्रमणले वैशाख महिनासम्म विद्यालय तहका विद्यार्थीलाई खासै असर नगर्ने भए पनि विश्वविद्यालयमा वार्षिक तथा सेमेस्टर प्रणालीमा अध्ययन गर्ने विद्यार्थीलाई भने धेरै समस्या पार्ने देखिएको उहाँले जनाउनुभयो । साथै विश्वविद्यालय तहमा केही विद्यार्थीको परीक्षा रोकिएको, केही नयाँ तहमा भर्ना गर्ने बेला भएकाले क्यालेन्डरका विषयमा एक महिनाभित्र एक खालको खाका बनाउनुपर्ने अवस्था रहेको उहाँको भनाइ छ ।

शिक्षकलाई पनि तयार पार्नुपर्ने

यसका लागि वैकल्पिक माध्यमबाट पठनपाठन अघि बढाउन सकिने स्पष्ट गर्दै उहाँले त्यसका लागि विद्यालय तहमा अध्यापन गराउने शिक्षकलाई तयार पार्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । अनलाइन, दूरशिक्षा यसको विकल्प हुन सक्ने तर त्यसको अवस्था के छ भन्ने कुराको अध्ययन गर्ने तयारीमा आफूहरू रहेको उहाँको भनाइ छ । प्रविधिबाट पढाउन शिक्षकका साथै यसमा विद्यार्थीको पहुँच कस्तो छ भन्ने हिसाबले समेत सोच्नुपर्ने उहाँको भनाइ छ ।

परीक्षा प्रणालीको पनि अध्ययन गरिँदै

यसका साथै प्रविधिबाट अध्यापन गराइएको अवस्थामा हालको परीक्षा प्रणालीमा समेत परिवर्तन हुने सम्भावना देखिएको छ । उपसमितिका संयोजक शर्माले हालको जस्तै कक्षा कोठामा आएर निर्धारित समयमा परीक्षा लिने र नतिजा प्रकाशित गर्ने प्रणालीमा परिवर्तन गर्नुपर्ने अवस्था आउन सक्ने उल्लेख गर्नुभयो । यो अवस्थामा शिक्षकलाई नै मूल्याङ्कन गर्न दिनुपर्ने उहाँको भनाइ छ । यसका लागि विद्यमान शिक्षाका कानुन तथा नीतिमा परिमार्जन गर्नुपर्ने देखिएको र यसमा समेत अध्ययन गरिने उहाँले बताउनुभयो ।गोरखापत्र दैनिकमा खबर छ।