काँग्रेस नेता आचार्यको निधन

नुवाकोट साउन १३ ।नेपाली काँग्रेसका पुराना नेता विष्णुबहादुर आचार्यको ६३ वर्षका उमेरमा निधन भएको छ ।
पाचक ग्रन्थीको अर्बुदरोगबाट पिडित उहाँको काठमाडौँको वीर अस्पतालमा उपचारका क्रममा गएराति निधन भएको हो । शनिबार साँझ बान्ता हुने र शरीरमा असजिलो भएपछि उपचारका लागि उहाँलाई अस्पताल लगिएकाेमा उपचारका क्रममा उहाँको निधन भएको आचार्यका सहकर्मी तथा नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति ध्रुव अधिकारीले जानकारी दिनुभयो 

 

 

विसं २०३३ देखि काँग्रेसको राजनीतिमा होमिनुभएका आचार्यलाई काँग्रेसले पञ्चायतविरुद्ध ‘आउट पोष्ट’ कब्जा गर्ने नीतिअनुरुप २०४४ सालमा काँग्रेसका तर्फबाट विदुर नगरपालिकाको निर्वाचनमा प्रमुखमा उम्मेदवार बनाएको थियो ।

 

 

पार्टी जिल्ला कमिटीका सदस्य, सहसचिव र सचिव हुँदै २०४६ सालको जनआन्दोलनतामा आचार्य जिल्लामा पार्टीको उपसभापति भएर सक्रिय हुनुभएको थियो ।उहाँ २०५४ सालमा तत्कालीन जिल्ला विकास समितिको सभापति पदमा पार्टीबाट सभापतिको उम्मेदवार बन्नुभएको थियो । उहाँले विसं २०५६ मा पार्टीको जिल्ला समितिको कावा सभापतिसमेत भएर पार्टी हाँक्नुभएको थियो ।

 

 

नुवाकोटको प्रजातान्त्रिक आन्दोलनमा आचार्यको योगदानलाई भुल्न नसकिने काँग्रेसका पूर्वसभापति अधिकारीले बताउनुभयो ।
प्रजातान्त्रिक आन्दोलनका क्रममा आचार्य पटक पटक कारागारसमेत पर्नुभएको थियो ।

 

विसं २०४२ को सत्याग्रह र २०४६ सालको जनआन्दोलनका क्रममा पनि उहाँ कारागार पर्नुभएको पूर्वसभापति अधिकारीले बताउनुभयो ।
पछिल्लो समय आचार्य बिपी विचार मञ्चका जिल्ला अध्यक्ष र बिपी. विचार मञ्चका केन्द्रीय सदस्य हुनुहुन्थ्यो । स्व आचार्यका श्रीमती, दुई छोरा र तीन छोरी हुनुुहुन्छ ।