आफ्नै पार्टी सम्वद्धका शिक्षकलाई मात्रै मेयरले तलब खुवाएको भन्दै शिक्षक आन्दोलनमा

काठमाडौं। धनुषाको शहीदनगर नगरपालिकाका शिक्षकहरू मेयर उदय बरबरिया यादव विरूद्ध आफू निकट शिक्षकको मात्रै तलब दिएको आरोप लगाउँदै आन्दोलनमा उत्रेका छन् ।

 

 

मेयर बरबरियाले विद्यालयका बालविकास शिक्षक र कर्मचारीलाई स्थानीय सरकारले समेत थपेर तलब दिनुपर्नेमा हालसम्म नदिएको र आफू निकट शिक्षकलाई मात्रै तलब खुवाएको उनीमाथि आरोप लगाइएको हो ।

 

 

मेयर बरबरिया माओवादी केन्द्रका हुन् । माओवादी समर्थित शिक्षकलाई उपलब्ध गराएको भन्दै तिनी आन्दोलनमा उत्रेका हुन् ।

 

 

 

पटक-पटक आग्रह गर्दा पनि गत ६ महिनादेखि तलब नदिएको भन्दै शहीदनगर नगरपालिकाका बालविकास सहजकर्ता र विद्यालय कर्मचारीहरु धर्ना दिदै आएका छन्।

 

 

संघीय सरकारले दिदैं आएको तलवमा स्थानीय सरकारले थप गरेर दिनुपर्नेमा साउन महिनादेखि नै नपाएको बालविकास सहजकर्ता लक्ष्मी थारु महतोले गुनासो गरिन्।

 

 

 

उनले भनिन् ‘तलब उपलब्ध गराउन गत ६ असोज र ६ चैतमा समेत यसबारे ज्ञापन पत्र बुझाएर आग्रह गर्दा पनि मेयर बरबरियाले बेवास्ता गर्दै आएपछि बाध्य भएर नगरपालिका अगाडि विद्यालयको कामकाज बन्द गरी धर्नामा बसेका छौ ।

 

बढाइएको सहित तलव उपलब्ध नगराएसम्म नगरपालिका कार्यालयमा धर्ना दिइरहने उनी बताउँछिन्।

 

 

 

संघीय सरकारले विद्यालय कर्मचारीको १३ हजार ५ सय, बालविकास सहजकर्ताको ८ हजार र कार्यालय सहयोगीलाई ८ हजार दिदैं आएकोमा स्थानीय सरकारले ७ हजार दिन अध्यादेशबाट बजेट पारित गरेको थियो ।

 

 

 

उता मेयर बरबिरयाले शिक्षकहरूको तलब बांकी रहेको छ तर आफू निकट वा पार्टी समर्थित शिक्षकलाई मात्र तलब खुवाएको आरोप गलत रहेको दाबी गरे ।

 

 

‘कसको कति तलब बांकी हो भन्ने कुरा कर्मचारीलाई थाहा होला, मैले बुझेसम्म बढाइएको सहितको केही शिक्षकलाई तलब दिइएको बाँकी रहेकाहरूलाई चाँडै नै व्यवस्थापन गरि उपलब्ध गराउने छाैं मेयर बरबिरयाले भने।