त्रिकोणात्मक टी-२० क्रिकेट: पीएनजीलाई ५० रनले हराउँदै नेपालले उचाल्यो उपाधि

काठमाडौं । त्रिकोणात्मक टी–२० श्रृखंलाको उपाधि नेपालले जितेको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले पपुवा न्युगिनी (पीएनजी)लाई ५० रनले हराएको हो ।

 

 

 

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो ।

 

 

 

नेपालले घरेलु मैदानमा लगातार दोस्रो टी २० सिरिज जितेको छ । यसअघि नेपालले घरेलु मैदानमा सन् २०२० मा नेदरल्याण्ड्स र मलेसिया सम्मिलित सिरिज जितेको थियो ।

 

 

 

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अद्र्धशतकीय पारी खेले । उनले ५४ रन बनाउने क्रममा ३८ बलको सामना गर्दै पाँच चौका प्रहार गरे ।

 

 

 

यस्तै करन केसीले १२ बलको सामना गर्दै एक छक्का र पाँच चौका प्रहार गरे । आशिफ शेखले २९, कुशल भुर्तेलले २५ र मोहमद आदिल आलमले १५ रन बनाए ।

 

 

 

 

बलिङतर्फ पपुवा न्युगिनीका सेमो कमेआले तीन तथा चाड सुपर, कबुवा मोरिआ र रिले हेकुरेले एक एक विकेट लिए ।

 

 

एक सय ६९ रनको लक्ष्य पछ्याउने क्रममा पपुवा न्युगिनीको पारी ११८ रनमा समेटियो । पपुवा न्युगिनीलाई जिताउन सेसे बाउ अन्तिम समयसम्म सङ्घर्षरत रहे ।

 

 

 

उनले ३८ बलको सामना गर्ने क्रममा ६ छक्का र एक चौका प्रहार गर्दै सर्वाधिक ५९ रन बनाए ।

 

 

 

चाल्र्स अमिनीले १५ रन बनाउनु बाहेक पपुवा न्युगिनीका अरु कुनै पनि खेलाडीले उल्लेख्य रन बनाउन सकेनन् । प्रारम्भिक खेलाडीद्वय लेगा सिका र असाद भालाले आठरआठ रन मात्र बनाउन सके ।

 

 

 

बलिङतर्फ नेपालका ऐरी र केसीका साथै कप्तान सन्दिप लामिछानेले समेत दुई विकेट लिए । ऐरीले निकै नै किफायती बलिङ गरे ।

 

 

 

उनले चार ओभरमा १८ रन मात्र खर्चिए । यस्तै केसीले तीन ओभरमा २७ रन तथा लामिछानेले चार ओभर बलिङ गर्दै २५ रन दिए ।

 

 

 

नेपाल, पपुवा न्युगिनी र मलेसिया सहभागी त्रिकोणात्मक टी–ट्वान्टी श्रृङ्खलाको ‘प्लेयर अफ दी सिरिज’ नेपालका ऐरी घोषित भए ।

 

 

 

उनले प्रतियोगिता अवधिभर पाँच खेलमा २५५ रन बनाउनुका साथै सात विकेटसमेत लिए । ऐरी आजको फाइनल खेलको ‘प्लेयर अफ दी म्याच’ समेत भए ।