६ बर्ष देखि अर्धचेत अवस्थामा रहेका कांग्रेस नेता चक्र बास्तोलाकाे निधन

काठमाडाै, असाेज २७।नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको निधन भएको छ। ७४ वर्षको उमेरमा बास्तोलाको शनिबार दिउँसो खुमलटारस्थित निवासमै निधन भएको छ।

 

०६९ साल पुस १४ गते मोरङको विराटनगरमा ‘बन्धु’ भेलालार्इ सम्बोधन गर्दागर्दै लडेका नेता बास्तोलालार्इ मस्तिष्कघात भएको थियो। बास्तोला ६ वर्षदेखि अर्धचेत अवस्थामा रहेका थिए। बास्तोलाले तत्कालीन माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन कांग्रेसकातर्फबाट ठूलो भूमिका खेलेका थिए।

 

मस्तिष्कघात भएपछि बास्तोलाको भारतको सिलिगुडी, मेदान्त अस्पताल गुडगाँव र काठमाडौंको न्युरो अस्पताल बाँसबारीमा उपचार गरिएको थियो। तर, उपचार सम्भव नभएपछि बास्तोलालार्इ पछिल्लो समय घरमै चिकित्सकहरूको निगरानीमा राखिएको थियो। बास्तोला पूर्व परराष्ट्रमन्त्री, भारतका लागि नेपाली पूर्वराजदूत, कांग्रेसका पूर्व केन्द्रीय सदस्य हुन्।