एनपीएल: चितवनलाई हराउँदै कर्णाली क्वालिफायरमा

काठमाडौं । चितवन राइनोजलाई हराउँदै कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपीएल)को क्वालिफायरमा प्रवेश गरेको छ।कीर्तिपुरस्थित टियू मैदानमा भएको एनिमिलेटर खेलमा चितवनविरुद्ध कर्णाली २१ रनले विजयी भएको हो। कर्णालीसँगको हारले चितवन भने प्लेअफबाटै बाहिरिएको छ ।

पहिले टस हारी ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो । जवाफमा चितवनले निर्धारित ओभरमा ९ विकेट गुमाएर १५४ रनमात्र बनाउन सक्यो ।

चितवनका लागि रवि बोपाराले सर्वाधिक ५३ रन बनाए । उनले ३४ बलमा ३ चौका र ४ छक्का प्रहार गरे । एनपिएलको आफ्नो तेस्रो अर्धशतक उनले ३२ बलमा पूरा गरे । बोपारा नन्दन यादवको बलमा गुलशन झाबाट समातिए ।

कप्तान कुशल मल्लले २४ बलमा १ छक्काको सहयोगमा २१ रन जोड्दै विपिन शर्माको बलमा बोल्ड आउट भए । ल्युक बेनकिस्टेन १३ बलमा १ चौका र १ छक्काको सहयोगमा १६ रन जोडे । उनी जिशान मक्शुदबाट बोल्ड आउट भए ।

दोस्रो विकेटका रुपमा विपिन रावल १० बलमा ४ चौकाको सहयोगमा १८ रनमा जोड्दै आउट भएका थिए । विपिन सोमपाल कामीको बलमा गुलशनबाट समातिएका थिए ।

पहिलो ओभरको पाँचौ बलमा हसन इसाखिल १ रन जोड्दै आउट भए । इसाखिल कर्णालीका कप्तान सोमपालको बलमा गुलशनबाट समातिएका थिए । सन्तोष कार्की ८, अमरसिंह राउटेला ९ तथा सोहेल तन्भिर ४ रनमा आउट भए । शरद भेषवाकर १० रनमा नट आउट रहे ।

कर्णालीका लागि मक्शुदले ३ तथा सोमपाल कामी र नन्दनले समान २ विकेट लिए । त्यसअघि टियु क्रिकेट मैदानमा बुधवार टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७५ रनको योगफल तयार गरेको थियो ।

कर्णालीका लागि कोल्सावालाले सर्वाधिक ५३ रन जोडे । उनले ३९ बलमा ६ चौका र २ छक्का प्रहार गरे । एनपिएल डेब्यू खेल खेलिरहेका कोल्सावालाले ३६ बलमा अर्धशतक पूरा गरेका थिए । अर्धशतक बनाए लगत्तैको अर्को ओभरमा कोल्सावाला रवि बोपाराको बलमा शरद भेषवाकरद्वारा समातिए ।

विलियम बोसिस्टोले ३९ बलमा ३ चौका र २ छक्काको सहयोगमा ५२ रन जोडे । एनपिएलको आफ्नो दोस्रो अर्धशतक बोसिस्टोले ३७ बलमा पूरा गरे । अर्धशतक पूरा गरे लगत्तै बोसिस्टो सोहेल तन्भिरको बलमा बोल्ड आउट भए । उनले यस अघि लिग चरणको खेलमा विराटनगर किंग्सविरुद्ध अर्धशतक बनाएका थिए ।

चाल्डिक वाल्टन २२ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ४६ रन जोड्दै नट आउट रहे । देव खनाल ३ बलमा ३ रन जोड्दै रन आउट भए ।

दोस्रो ओभरको पहिलो बल सामना गर्ने क्रममा रित गौतम आउट भएका हुन् । इनिङको पहिलो बल सामना गर्ने क्रममा रित सोहेल तन्भिरको बलमा विकेटकिपर विपिन रावलबाट समातिए ।

मक्शुदले १२ बलमा १ चौका र १ छक्काको सहयोगमा १४ रन जोडे । मक्शुद शरदको बलमा रञ्जित कुमारबाट क्याच भए । शरदको प्रतियोगितामा यो पहिलो विकेट हो।

चौधौं ओभरको चौथो बलमा गुलशन रनको खाता नखोल्दै कप्तान कुशलको बलमा बोल्ड आउट भए । चितवनका लागि तन्भिरले २ तथा बोपारा, शरद र कुशलले समान १ विकेट लिए।