आज पाँच संसदीय समितिको बैठक बस्दै
काठमाडौं। संघीय संसदअन्तर्गत आज पाँच वटा समितिको बैठक बस्दै छ । संसद सचिवालयका अनुसार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, सार्वजनिक लेखा समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको हो।
दिउँसो साढे ११ बजे उद्योग समितिको बैठक बस्दै छ । बैठकमा विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि छलफल हुने कार्यसूची छ। त्यस्तै दिउँसो १ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा महान्यायाधिवक्ताको कार्यालयको काम कारबाहीको सम्बन्धमा छलफल हुनेछ।
बिहान ११ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा उपसमितिहरुले समितिमा छलफल गर्ने भनी औँल्याएका विषय, समितिमा प्राप्त उजुरी उपरहरु सम्बन्धमा छलफल हुनेछ।
त्यस्तै बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको कार्ययोजना कार्यान्वयन अवस्थाको सम्बन्धमा छलफल हुनेछ। दिउँसो ३ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसँग छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।
