नेपालको जैविक विविधता जोगाउने चुनौती: पर्यटनमन्त्री पाण्डे

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपालको जैविक विविधता जोगाउने चुनौती रहेको बताएका छन्।४६ औं पर्यटक प्रहरी दिवसको अवसरमा काठमाडौँमा शनिवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले नेपालमा पर्यटनको विकास र प्रवर्धनका लागि जैविक प्राकृतिक विविधता जोगाउनुपर्ने चुनौती रहेको बताए। उनले पर्यटन क्षेत्र एक्लै अघि बढ्न नसक्ने भन्दै सबैको समन्वय र सहकार्यमा पर्यटन क्षेत्रको प्रवर्धन जरुरी रहेको बताए।

नदीको प्राकृतिक बहावमा अतिक्रमण गर्न नहुने बताए। पर्यटनमन्त्री पाण्डेले नेपालमा पर्यटनको अनुकूल वातावरण छ भन्ने कुरा सरकारले स्थापित गरेर छोड्ने बताए। पर्यटकहरू देशको समृद्धिको वाहक भएको बताए।

मन्त्री पाण्डेले भने, ‘पर्यटन क्षेत्र भनेको एक्लै अगाडि बढ्नै नसक्ने क्षेत्र हो। एक्लैले म यो गर्छु भनेर सम्भव हुँदैन। पर्यटन भन्नासाथै पर्यटनसँग सबै क्षेत्र जोडिन्छ। गृह, परराष्ट्र, वन, उद्योग मन्त्रालय जोडिन्छ। ठाउँ ठाउँमा क्रसर खुल्दै छन्। नदीको प्राकृतिक बहावमा अतिक्रमण भयो भने र्‍याफ्टिङको सम्भावना रहँदैन।

ऊर्जा मन्त्रालयले ठूलाठूला बाँध बनाएर ऊर्जा विकास गर्छ। विकास जरुरी छ तर नदीको प्राकृतिक बहाव हामीले जोगाउनुपर्ने चुनौती पनि छ। जैविक विविधता जोगाउनुपर्ने चुनौती पनि छ। त्यसको सुरक्षा भएन भने पर्यटकहरू त्यो गन्तव्यमा जान मान्दैनन्।’

पर्यटनमन्त्री पाण्डेले अहिले नेपालमा पर्यटक प्रहरीको संख्या २४६ रहेको भन्दै पर्यटक प्रहरीको प्रभावकारिता बढाउँदै लैजानुपर्ने बताए। उनले कर्णालीको रारा र सुदूरपश्चिमको खप्तडमा प्रहरी पर्यटक लैजाने तयारी शुरु गरेको बताए। प्रहरी पर्यटकको संख्या बढाउने र २९ ठाउँमा मात्रै सीमित पर्यटक प्रहरीलाई बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे।