विपिन जोशी रिहाइको पहल गरिदिन इरानी विदेशमन्त्रीलाई परराष्ट्रमन्त्रीको फोन
काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले इरानका विदेशमन्त्री सय्यद अब्बास अराघ्चीसँग फोनवार्ता गरेकी छिन् । उनले हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइको कूटनीतिक पहल गरिदिन आग्रह गर्दै गएराति इरानी विदेशमन्त्री अराघ्चीसँग फोनवार्ता गरेकी हुन् ।
त्यस अवसरमा विदेशमन्त्री अराघ्चीले हमासका अधिकारीहरूसँग अब हुने बैठकमा आफूले विपिन रिहाइको मुद्दा प्राथमिकताका साथ उठाउने आश्वासन दिएको परराष्ट्रमन्त्रीको निजी सचिवालयले जनाएको छ । इजरायल र हमासबिच युद्धविराम भएपछि आफ्ना नियन्त्रणमा रहेका बन्दीहरूलाई हमासले मुक्त गर्न गरिरहेको छ ।
हमासको नियन्त्रणबाट विपिनलाई मुक्त गर्न नेपाल सरकारले कूटनीतिक पहललाई जारी राखेको छ । यसक्रममा मन्त्री डा राणाले अघिल्लो हप्तामात्र इजिप्टका विदेशमन्त्रीसँग पनि फोनवार्ता गरी पहलका लागि आग्रह गरेकी थिइन् । अध्ययनका लायि इजरायल पुगेका विपिन जोशी इजरायल–हमास युद्ध सुरु भएदेखि नै वेपत्ता छन् ।
