सार्वजनिक जग्गा जनताले उपभोग गर्न पाउनुपर्छ: उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासन्त्री प्रकाशमान सिंहले सार्वजनिक जग्गा जनताको भएको बताउँदै उपभोग गर्न पाउनुपर्ने बताएका छन्।
शुक्रबार आफ्नो निर्वाचन क्षेत्र काठमाडौं–१ अन्तर्गत पर्ने काठमाडौं महानगरपालिका वडा नं २९ को वडा भवन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले काम गर्नेहरूलाई हावादारी गफ गर्नेहरूसँग तुलना गर्न नमिल्ने पनि बताए । उनले भने, ‘संविधान जारी गरेको कुरा यो केही होइन भनेर भन्छन्, के गर्दा ठूलो कुरा हुने यहाँ? काम गर्नेहरूलाई त्यसै हावादारी गफ गर्नेहरूसँग तुलना गरेर हुन्छ?
मन्त्री सिंहले होहल्ला गर्नेहरुको नियत के हो? त्यो पनि बुझ्नुपर्यो बताए । ‘विदेशमा कति हजार डलर कमाइराको, छोडेर आको भनेर भन्छन् । छोडेर आएको कि केही काण्ड भएर फर्केर आएको हो ? त्यो पनि बुझ्नुपर्यो नि’ उनले भने ।
उपप्रधानमन्त्री सिंहले राजनीति गर्न चरित्र नचाहिने हो भन्दै प्रश्न पनि गरे। उनले राजनीतिमा लागेर सेवा गर्ने र ठगी खानेहरूको ठण्डा दिमागले लेखाजोखा गर्न पनि आग्रह गरे ।
त्यस्तै, नागरिकको सरकार स्थिर होस् भन्ने चाहनाअनुसार कांग्रेस एमाले मिलेर सरकार बनेको र अर्थतन्त्र चलायमान बनाउँदै लयमा ल्याउनका लागि अध्यादेश ल्याइएको पनि प्रष्ट पारे ।
सोही अवसरमा उनले सार्वजनिक जग्गा जनताको लागि हुनुपर्ने र स्थानीयले उपभोग गर्न पाउनुपर्ने बताएका हुन् । सरकारले त्यसका लागि काम गरिरहेको भन्दै नागरिकतहबाट सरकारलाई साथ दिन पनि सिंहले आग्रह गरे ।
उनले काठमाडौं क्षेत्र नं १ बाट आफूले संसदमा प्रतिधित्व गरेपछि सडक, सामुदायिक विद्यालयका पूर्वाधारमा धेरै काम भएको बताए ।
उनले अब स्वास्थ्यमा ध्यान दिनुपर्ने भन्दै प्रभावकारी वडा क्लिनिक बनाउनका लागि काम गर्नुपर्नेमा जोड दिए ।
