प्रधानमन्त्री ओलीले बोलाए चिकित्सा शिक्षा आयोगको आकस्मिक बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा आयोगको बैठक बोलाएका छन् । शुक्रबार प्रधानमन्त्री ओलीले आयोगको १६औं बैठक आकस्मिकरुपमा डाकेका हुन् ।
आन्दोलनरत आवासीय चिकित्सकको माग समाधान गर्ने बारे छलफल गर्न बैठक बोलाइएको जनाइएको छ । चिकित्सा शिक्षा आयोगको अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले अहिले केहीबेरपछि बालुवाटारमा आकस्मिक बैठक बोलाएका हुन् । उक्त बैठकमा आवासीय चिकित्सकको उठाएका माग र पिजी सिटको बारेमा छलफल हुने एजेन्डा रहेको छ ।
छलफलका लागि आयोगको १६औं बैठकको डाकिएको आयोगका एक सदस्यले बताए । उनका अनुसार आजको बैठकमा आवासीय चिकित्सकको मागको विषयमा छलफल हुनेछ ।
बुधबार राति प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी ओली, शिक्षामन्त्री विद्या भट्टराई, स्वास्थ्यमन्त्री प्रदीप पौडेल, वरिष्ठ चिकित्सक र आवासीय चिकित्सकका प्रतिनिधिहरुसहित छलफल भएको थियो ।
उक्त छलफलमा आवासीय चिकित्सकको पारिश्रमिक आठौं तहका सरकारी कर्मचारी सरह ४८ हजार ७ सय रुपैयाँ दिन सरकार सकारात्मक भएको थियो।
यसअघि स्वास्थ्यमन्त्री प्रदीप पौडेल र शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले संयुक्त रुपमा निर्णय गर्दै पहिलो वर्षमा २५ हजार, दोस्रोमा ३० हजार र तेस्रो वर्षमा ३५ हजारका दरले निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरिएको थियो।
तर, त्यसपछि चिकित्सकहरुले आन्दोलनको घोषणा गरेपछि पुनरावलोकन गर्न सरकार सकारात्मक भएको थियो ।
