प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक आज बस्दै,यस्तो छ कार्यसूची

काठमाडौं। प्रतिनिधिसभा बैठक आइतबार बस्दैछ। दिउँसो १ बजे शुरु हुने बैठकको आरम्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘महालेखापरीक्षकको एकसट्ठीऔँ वार्षिक प्रतिवेदन, २०८१’ पेश गर्नेछन्।

यस्तै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्त्व (पहिलो संशोधन) विधेयक, २०८१’ फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्नेछन्।

बैठकमा ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि माननीय प्रेम सुवालबाट प्राप्त विरोधको सूचना निर्णयार्थ पेश गरिनेछ ।

यस्तैगृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, नेपाल प्रहरी विधेयक-२०८१’, ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१’ प्रस्तुत गर्न अनुमति माग्ने तथा प्रस्तुत गर्नेछन्।

यस्तै विधायन विधेयक, २०८० सम्बन्धमा ‘कानून, न्याय तथा मानव अधिकार समितिुको प्रतिवेदनको विभिन्न बुँदा र विधेयकका दफा निर्णयार्थ प्रस्तुत गरिनेछ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘विधायन विधेयक २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ।

त्यस्तै राष्ट्रिय सभा बैठक पनि आज आइतबार बस्ने भएको छ। दिउँसो सवा १ बजे शुरु हुने बैठकको आरम्भमा विष्णुप्रसाद पौडेलले ‘आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यान्वयनको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन’ सभा समक्ष पेश गर्नेछन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सामाजिक सञ्जाल विधेयक-२०८१ सभा समक्ष पेश गर्ने तय भएको संसद् सचिवालयले जनाएको छ।

यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ‘पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सभामा प्रस्तुत गर्ने कार्यसूची छ।