प्रतिनिधि सभा अन्तर्गतका चार समितिको बैठक बस्दै

काठमाडौं । आज प्रतिनिधि सभा अन्तर्गतका चार समितिको बैठक बस्दै छ । आज अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै छ ।

आज बिहान १० बजेदेखि बस्ने अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल जारी रहने समितिले जानकारी दिएको छ ।

त्यस्तै आज बिहान १० बजेदेखि सुरु हुने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा वैदेशिक रोजगार व्यवस्थापन सम्बन्धमा छलफलको कार्यसुची रहेको छ ।

त्यसैगरी बिहान साढे ९ बजेदेखि सुरु हुने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा स्वतन्त्र न्यायपालिका तथा न्याय प्रशासनको वर्तमान अवस्था, समस्या र समाधानको विषयमा छलफलको कार्यसूची रहेको छ ।

त्यस्तै आज दिउसो १ बजेदेखि सुरु हुने कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा समितिमा प्राप्त उजुरीका सम्बन्धमा आन्तरिक छलफल हुने कार्यसूची रहेको समितिले जनाएको छ ।