ओली–प्रचण्डलाई नै ठेगान लगाउने माधवको तयारी,यस्तो छ पार्टीको रणनीति ?
आर.एस.महतारा
काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नै चुनौती दिने नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले तयारी गरेका छन्। प्रचण्डले पार्टी एकताको नाममा कुप्रचार/भ्रमको खेति गर्दै जनतालाइ झुक्याउने काम गरेकाले सजग भएर पार्टीको काम गर्न नेता कार्यकर्तालाइ बैठकबाटै निर्देशन दिएका छन्।
त्यस्तै एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले पार्टी नै निल्न खोजेको भन्दै नेपालले ओलीसँग सजग भएर पार्टीको काममा लाग्न पार्टीको बैठकमा नेताहरूलाइ निर्देशन दिए। उनले हाम्रो पार्टी कसरी बिघटन गर्न सकिन्छ भनेर बाहिरी तत्व लागि परेकाले पार्टीका सबै नेता कार्यकर्ताले डटेर लड्ने बेला आएको बताए।
नेकपा एकीकृत समाजवादीको शुक्रबारदेखि दोस्रो पूर्णबैठक सुरु भएको थियो। दुई दिनसम्म चल्ने बैठकको पहिलो दिन पार्टी अध्यक्षदेखि सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले आफ्ना भनाइहरू राखेका थिए।
गत असारमा महाधिवेशन भएको भण्डै सात महिनापछि नेकपा एकीकृत समाजवादीको दोस्रो पूर्णबैठक काठमाडौंमा बसेको थयो। शुक्रबार सुरु भइ दुई दिनसम्म चलेको बैठकमा अध्यक्ष माधवकुमार नेपालले १३ बुँदे आचारसंहिता पेस गरेका थिए।
आचारसंहितामा मार्गनिर्देशक सिद्धान्त, मूल्य मान्यता, आचरण, नैतिकता, व्यवहार,जिम्मेवारी,जवाफदेहिता,अध्ययनशीलता, अनुशासनको पालना लगायतका विषय समावेश गरिएका थिए।
पार्टीका नेता तथा कार्यकर्ताको आर्थिक र नैतिक आचरण शुद्ध हुनुपर्ने बताएका नेपालले कार्यकर्ताको खानपान, रहनसहन, उठबसमा समेत अनुशासनको डण्डा चलाएका छन्। कम्युनिष्टको धर्म नै नैतिकता प्रदर्शन गर्नु भएकाले परपुरुष–परस्त्रीबीच शारीरिक सम्बन्ध राख्ने र विवाहपूर्व तथा वैवाहिक सम्बन्ध बाहिर शारीरिक सम्बन्ध राख्ने कार्य अनैतिक हुने उल्लेख गरेका छन्। महिलाप्रति एक निष्ठताको व्यवहार गर्न नेता र कार्यकर्तालाई अध्यक्ष नेपालले निर्देशन दिएका छन्। यस्तै उनले काँग्रेस–एमाले नेतृत्वको सरकारले बहुदलीय लोकतन्त्रलाई चुनौती दिँदै दुई दलीय शासन व्यवस्था अघि बढाउन खोजेको आरोप समेत लगाएका छन्।
वर्तमान सरकार दुई दलीय व्यवस्थाको नाममा एकदलीय तानाशाही व्यवस्था लागू गर्न अग्रसर रहेको उनको भनाइ छ। साना र प्रतिष्पर्धी दलहरुलाई समाप्त पारेर सिंगो देशमा तानाशाही लागू गर्ने कुचेष्टा भइरहेको उल्लेख गरेका नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै संविधान मिच्न बानी परेकाहरु कानून मिच्न पनि त्यत्ति नै अग्रसर देखिएको आरोप लगाए।
यता, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी संस्थागत र विधिगत रूपमा चल्न नसकेको भन्दै असन्तुष्टि पोखि रहेका छन्। जारी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै नेता खनालले पार्टी निकट विद्यार्थी सङ्गठन र युवा सङ्घमा गम्भीर समस्या देखिएकाले त्यसको निकास विधि र प्रक्रिया बमोजिम हुनुपर्नेमा जोड दिए। गत मङ्गलबारको स्थायी कमिटि बैठकमा पनि खनाल पदीय जिम्मेवारीलाई लिएर असन्तुष्ट देखिएका थिए।
१० औं महाधिवेशनबाट सर्वसम्मतिले सम्मानित नेता चुनिए पनि सो विधान छापिएर आउँदा केन्द्रीय कमिटिको बैठकले सम्मानित नेता तोक्ने निर्णय भएपछि खनालले आपत्ति जनाएका थिए। त्यस्तै माघ १४ गते जारी भएको अन्तर पार्टी निर्देशन (अपानी) मार्फत अनेरास्वयूकी अध्यक्ष आरती लामा र युवा सङ्घका अध्यक्ष कृष्णकुमार विश्वकर्मालाई निष्काशन गरिएकोमा पनि खनालले अध्यक्ष नेपालप्रति कटाक्ष गरे।
पार्टी निकट विद्यार्थी सङ्गठन र युवा सङ्घमा पनि गम्भीर समस्या देखिएकाले त्यसको निकास विधि र प्रक्रिया बमोजिम हुनु पर्नेमा उनको जोड छ। जनसङ्गठनहरूमा ‘टिके प्रथा’ सुरु भएको भन्दै अबदेखि यस्ता कार्य सदाका लागि अन्त्य गर्नुपर्ने उनको धारणा छ।
पार्टीको तात्कालीक कार्ययोजनाः आन्दोलनद्वारा पार्टी निर्माण’ नाम शीर्षकको साङ्गठनिक प्रतिवेदन पेस गर्दै महासचिव घनश्याम भुषालले कांग्रेस–माओवादीले सकेसम्म पार्टीको प्रयोग गरेको बताए।
उनले पेश गरेको कार्ययोजनामा युवा–विद्यार्थी र किसान–मजदुर, उद्योगी गरेर दुई वटा जनप्रदर्शन गर्नु उचित हुने स्पष्ट पार्दै तीन महिने आन्दोलन कार्यक्रमको तालिका प्रस्ताव गरेका छन्। पार्टीका नेता कार्यकर्ताहरूमा निराशा, हतासा, अन्योल, पलायन र निष्क्रिय बस्ने समस्या रहेको पनि उनले स्वीकार गरेका छन्।
अध्यक्ष नेपालले तत्काल कुनै पनि पार्टीसँग एकीकरणको सम्भावना नरहेकाले पार्टी एकताबारे कुप्रचारको भ्रममा नपर्न आग्रह समेत गरेका छन्। एमालेले पार्टी निल्न खोजेको र माओवादीका नेताहरूले पनि एकता गर्ने भ्रम छरिरहेको भन्दै नेता कार्यकर्तालाई पार्टीको निर्णय अनुसार चल्न निर्देशन दिए। एकीकृत समाजवादीले सदस्यता शुल्क वापत सदस्यहरुबाट वार्षिक सय रुपैयाँ लिनेसमेत भएको छ।
