पाथीभरा केबलकार विवादः गृहमन्त्रीको राजीनामा माग
मोरङ। कोशी प्रदेश सभामा सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले ताप्लेजुङमा भएको घटनामा सरकारले मानवअधिकार उल्लंघन गरेको आरोप लगाएका छन्।
शून्य समय र विशेष समयमा बोल्दै प्रदेश सभा सदस्यहरूले पाथीभरा क्षेत्रमा देखिएको समस्या समाधान गर्न मन्त्रीस्तरीय वार्ता समिति गठन गर्न समेत माग गरेका छन्। यस्तै ताप्लेजुङ घटनामा घाइते भएकाहरूको निस्शुल्क उपचारको व्यवस्था गर्न पनि उनीहरूले सरकारसँग माग गरेका छन्।
प्रदेश सभा सदस्यहरू विद्या चाम्लिङ राई, खिनु लङ्वा लिम्बू,प्रदीप सुनवार,प्रेमराज थामसुहाङ,गोविन्द गिरी लगायतले निषेधाज्ञा जारी गरेर समस्याको समाधान नहुने बताउँदै वार्ता र संवादबाट समस्याको समाधान गर्न माग गरेका छन्।
सरकार नागरिकप्रति जिम्मेवार नरहेको आरोप लगाउँदै प्रदेश सभा सदस्यहरूले ताप्लेजुङको घटनामा गृहमन्त्रीले राजीनामा दिनुपर्ने पनि माग गरेका छन्।
‘नो केबलकार समूह’ र प्रहरीबीच ताप्लेजुङ सदरमुकाम फुङलिङमा हिजो शनिबार साँझ झडप भएको थियो। झडपका क्रममा प्रदर्शनकारी र प्रहरी दुवैतर्फ केही घाइते समेत भएका थिए।
पछिल्लो समय ताप्लेजुङमा केबलकार विरोधी समूह र सुरक्षा निकायबीच झडप भइरहेको छ। गत माघ १२ गते पनि केबलकार विरोधी समूह र प्रहरीबीच झडप हुँदा गोली चलेको थियो र दुई जना प्रदर्शनकारी घाइते भएका थिए।
