बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त

काठमाडौं। बीमा कम्पनीहरूको नियामक निकाय नेपाल बीमा प्राधिकरणको रिक्त रहेको अध्यक्ष पदमा शरद ओझा नियुक्त भएका छन्। मन्त्रिपरिषदको आज बसेको बैठकले ओझालाई बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। योसँगै प्राधिकरणको इतिहासमै कान्छो अध्यक्षका रुपमा ओझा नियुक्त भएका छन्। उनी पूर्वपत्रकार पनि हुन्।

अध्यक्ष नियुक्तिका लागि सरकारद्वारा गठित सिफारिस समितिले कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्तापछि सर्टलिस्टमा परेका ५ जनामध्ये ३ जनाको नाम मन्त्रिपरिषदसमक्ष सिफारिस गरेको थियो। कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता फागुन १० गते अर्थ मन्त्रालयमा गरिएको थियो।

समितिको गत फागुन ४ गतेको निर्णयानुसार सर्टलिस्टमा कमलप्रसाद रेग्मी, चिरिञ्जीवी चापागाईं, दामोदर बसौला, रामशरण पुडासैनी र शरद ओझा परेका थिए।

कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्तापछि प्राप्त अंकका आधारमा पहिलो नम्बरमा शरद ओझा, दोस्रोमा रामशरण पुडासैनी र तेस्रोमा दामोदर बस्यौलाको नाम सिफारिस गरिएको थियो।

मन्त्रिपरिषदको बैठक सोमबार साँझ बालुवाटारमा बसेको थियो। मन्त्रिपरिषद्को बैठकले ओझालाई बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। सम्भवतः ओझाले भोलि प्राधिरणको अध्यक्षको शपथ ग्रहण गरेर कार्यभार सम्हाल्नेछन्।

ओझा स्नातक तहमा व्यवस्थापनसम्बन्धी विषयको अध्यापन गर्छन् भने अधिवक्ता, वित्त परामर्शदाता र पूर्वपत्रकार पनि हुन्। उनी स्वास्थ्य बीमा बोर्डका पूर्वकार्यकारी निर्देशक बसौला र नेपाल सरकारका पूर्वसचिव एवं कृषि विकास बैंकका अध्यक्ष पुडासैनीलाई पछि पार्दै अध्यक्षमा नियुक्त भएका हुन्। 

यसअघिका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध २४ मंसिरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनी स्वतः निलम्बनमा परेका थिए । उनी निलम्बन भएपछि प्राधिकरण अध्यक्ष पद रिक्त थियो।बीमा प्राधिकरणले जीवन बीमा, निर्जिबन बीमा र लघु बीमा कम्पनीहरुको नियमन गर्दछ ।