चोर र घरधनीबीच झडप हुँदा तीन जना घाइते

काठमाडौं। मकवानपुरमा चोर र घरधनीबीच झडप हुँदा तीन जना घाइते भएका छन्। गएराति इन्द्र सरोबर गाउँपालिका–३ अदुवाबारीमा चोरी गर्न आएका व्यक्तिसहित घरधनी ६३ वर्षका मीनबहादुर भ्लोन र उनकी श्रीमती देवी माया घाइते भएका हुन्।
प्रहरीका अनुसार चोरी गर्न आएका व्यक्तिले घरमा खाना खाइरहेका भ्लोन दम्पतीलाई आँखामा खुर्सानीको धुलो छर्केर चोरी गर्न खोज्दा झडप भएको थियो। झडपमा घाइते भएका भ्लोन दम्पतीको हाल हेटौँडा अस्पतालमा उपचारका भइरहेको र चोरी गर्न आएका व्यक्तिको चितवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घाइते मध्ये मीनबहादुरको करङको हड्डी भाँच्चिएको, हातमा, ढाडमा चोट लागेको छ भने श्रीमतीको आँखा र हातमा चोट लागेको छ। चोरी गर्न आएका व्यक्तिको अवस्था भने गम्भीर रहेको बताइएको छ।
उनको टाउकोमा चोट लागेको र रगत जमेको कारण हेटौँडामा उपचार सम्भव नभएपछि चितवन पठाइएको प्रहरीले जनाएको छ। चोरी गर्न आएका व्यक्तिको हालसम्म पहिचान खुलिनसकेको प्रहरीको भनाई छ।
