उत्पीडित जनता अझै अधिकारको पर्खाइमा छन्ः अध्यक्ष प्रचण्ड

फाइल तस्बिर

भजनी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उत्पीडित जनताले अझै अधिकार प्राप्त गर्न नसकेको बताएका छन्।

कैलालीको टीकापुरमा आज आयोजित थारु राष्ट्रियमुक्ति मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलनमा उन उत्पीडित जनता अहिले पनि आफ्नो अधिकारको पर्खाइमा रहेको बताए।

उनले भने, ‘यो व्यवस्था ल्याउनमा उत्पीडित जाति, वर्ग र समुदायको महत्वपूर्ण भूमिका थियो र छ। तिनको अधिकारलाई स्थापित गर्दै समाजवाद स्थापना गर्नु अहिलेको आवश्यकता हो। समाजवादी क्रान्तिका लागि जातीय मोर्चा आवश्यक हुने उनको जिकिर थियो।

विगतमा भएको सशस्त्र सङ्घर्षलाई सफल पार्नमा पार्टीसँग जोडिएका जातीय मोर्चाको भूमिका विशेष रहेको बताउँदै अध्यक्ष दाहालले बृहत् शान्ति प्रक्रियापछि ती समुदायसँगको समन्वय र सहकार्यमा केही कमजोरी भएको स्वीकारे ।

उनले भने,जनताको माझबाट सत्तामा पुगेपछि हामीबाट केही कमजोरी भए । व्यवस्था परिवर्तनका लागि भूमिका खेलेका जाति, समुदाय र वर्गबाट टाढा भएको जस्तो भयो । अहिले गम्भीर समीक्षापछि आफ्ना गल्तीलाई महसुस गर्दै पार्टी अगाडि बढेको छ।

अब विसं २०८४ को निर्वाचन अगाडि पार्टी सरकारमा सहभागी नहुने भन्दै अध्यक्ष दाहालले पार्टीभित्र गम्भीर आत्मसमीक्षा गरेर हाल २०६४ सालमा मतदान गर्ने जनताको घरदैलोमा पुग्ने काम भइरहेको बताए।

जनताको भावना बुझ्नकै लागि मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान र हुलाकी राजमार्ग केन्द्रित तराई–मधेस अभियान सञ्चालन गरिएको उनले बताए।

पार्टी उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले परिवर्तित व्यवस्थालाई समाजवादी लोकतान्त्रिक गणतन्त्रसँग जोडेर लैजानुपर्ने आवश्यकता औँल्याए। उनले केही शक्तिले उत्पीडित जनतालाई उकास्दै प्राप्त उपलब्धि समाप्त पार्ने प्रयत्न गरिरहेको भन्दै त्यसको रक्षा गर्न सबै एकताबद्ध हुनुपर्ने बताए।