अध्यादेशका पक्षमा उभिन सांसदलाई कांग्रेस-एमालेको ह्विप
काठमाडौं । सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेले भोलिको संसद् बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरूलाई निर्देशन दिएका छन् । संसद् बैठक भोलि दिउँसो १ बजेका लागि आह्वान गरिएको छ ।
सरकारले भूमिसम्बन्धीबाहेक अरू अध्यादेश पारित गर्नका लागि भोलि संसद्मा पेश गर्दैछ । अध्यादेशहरू पारित गर्नका लागि कांग्रेस र एमालेले आफ्ना सांसदहरूलाई अनिवार्य संसद् बैठकमा उपस्थित हुन ह्विप जारी गरेका हुन् ।
जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) भूमि अध्यादेशको पक्षमा नदेखिएपछि सरकारले त्यसलाई रोकेर अन्यलाई पारित गर्न प्रक्रियामा लैजान लागेको हो ।
सरकारले यसअघि सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश २०८१, निजीकरण संशोधन अध्यादेश २०८१ र आर्थिक तथा व्यावसायिक वातावरण सुधार लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१, सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ र भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ प्रतिनिधिसभामा टेबल गरेको थियो।
अब भोलिको प्रतिनिधिसभा बैठकमा भूमिसम्बन्धीबाहेकका अरू पाँच वटा अध्यादेश स्वीकृतिका लागि पेश हुन लागेको हो। संसद् अधिवेशन शुरू भएको ६० दिनभित्र अध्यादेश संसद्बाट पास गर्नुपर्ने संवैधानिक व्यवस्था छ । अध्यादेशको आयु अब २७ दिन बाँकी छ।
