आज यी प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं।देशमा हाल पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ। यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसो कोशी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोशी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागका थोरै तथा बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
देशका हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। मधेश प्रदेश लगायत लुम्बिनी प्रदेशका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफादेखि आंशिक बदली रहनेछ । देशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा र हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

