माओवादीको मध्यपहाडी राजमार्गकेन्द्रित अभियान आजदेखि,यस्तो छ कार्यक्रम

काठमाडौं । नेकपा माओवादी केन्द्रले आज (शुक्रबार)बाट पुष्पलाल मध्यपहाडी राजमार्गकेन्द्रित अभियान सुरू गर्दैछ । त्यसका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बैतडी हिजै पुगिसकेका छन् ।

बैतडीको पाटनबाट अभियानको थालनी हुनेछ । अभियानको उद्घाटन अध्यक्ष प्रचण्डले नै गर्नेछन् । विशेष गरेर यो अभियानमा नागरिकसँग संवादमा जोड दिने, स्थानीय समस्याहरू सुन्ने माओवादी केन्द्रले जनाएको छ ।

कूल एक हजार ७६७ किलोमिटर यो राजमार्गकेन्द्रित अभियान जेठ महिनाभरमा पूरा गर्ने माओवादी केन्द्रले जनाएको छ । यसअघि माओवादी केन्द्रले दक्षिणी तराईको हुलाकी राजमार्गकेन्द्रित अभियान गरेको थियो ।

मध्यपहाडी लोकमार्गमा पर्ने स्थानहरूमा पार्टीको प्रत्येक प्रदेश समितिले एकएक ठाउँमा जनसभा राख्नेछन् । प्रत्येक जिल्ला समन्वय समितिले एक–एक स्थानमा जनसंवादको कार्यक्रम आयोजना गर्ने माओवादी केन्द्रले जनाएको छ ।

बैतडीबाट सुरू भएको अभियान आजै डोटीको दिपायल पुगेर जनसंवादमा परिणत हुने माओवादीले जनाएको छ । यस्तै, जेठ ३ गते अछामको मंगलसेन जनसंवाद हुनेछ । जेठ ४ गते दैलेख सदरमुकाम दुल्लुमा जनसभा हुनेछ भने ५ गते जाजरकोट खलगांमा जनसंवाद तय भएको माओवादीले जनाएको छ।

यस्तै, जेठ ६ गते पश्चिम रूकुमको चौरजहारी जनसभा र मुसिकोट जनसंवाद हुनेछ भने जेठ ७ गते पूर्वी रूकुमको रुकुमकोट जनसंवाद र रोल्पाको थवाङमा जनसभा हुने माओवादी केन्द्रले जनाएको छ। जेठ ८ गते बागलुङमा जनसंवाद हुने र जेठ ९ गते पर्वतको कुश्मामा जनसंवादको कार्यक्रम तय भएको छ। जेठ १० गते अभियान पोखरा आइपुग्नेछ।