कांग्रेसले भन्याे-गठबन्धन परिवर्तन हुँदैन,प्रचण्डकाे फोन संयोग मात्रै हो

काठमाडौं। नेपाली कांग्रेसले वर्तमान सत्तारुढ गठबन्धन परिवर्तन गर्ने वा माओवादी केन्द्रसँग नयाँ गठबन्धन गर्ने कुनै योजना नरहेको प्रष्ट पारेको छ।

शनिबार नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको पार्टीको संसदीय दलको बैठकपछि प्रमुख सचेतक श्याम घिमिरेले सञ्चारकर्मीसँग कुरा गर्दै माओवादीसँग गठबन्धन वा सरकार परिवर्तनको सम्भावना नरहेको बताए।

घिमिरेले पार्टी सभापति शेरबहादुर देउवाले माओवादी नेताहरूसँग गरेको छलफल सामान्य भएको र गभर्नर नियुक्तिमा ढिलाइ प्राविधिक कारणले भएको जिकिर गरे। उनले नेकपा एमालेले गभर्नर नियुक्तिमा असहयोग गरेको भन्ने कुरामा सत्यता नरहेको र चाँडै नियुक्ति हुने बताए।

कांग्रेस सांसद प्रकाशशरण महतले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डडेलधुराबाट सभापति देउवालाई फोन गर्नु संयोगमात्र भएको बताए।

उनले प्रचण्ड र देउवाबीचको कुराकानी सामान्य रहेको र यसमा सरकार परिवर्तनको कुनै सङ्केत नभएको स्पष्ट पारे। महतले ठुला दुई पार्टीको गठबन्धनमा कांग्रेसका कुरा पर्याप्त नसुनिएको भन्दै सांसदहरूको चिन्ता रहेको उल्लेख गरे।

बैठकमा कांग्रेस सांसदहरूले सरकारको एकतर्फी कार्यशैली र गभर्नरलगायत नियुक्तिहरूमा भएको ढिलाइप्रति असन्तुष्टि व्यक्त गरे। उनीहरूले बजेट वितरण समान र सन्तुलित हुनुपर्ने, सङ्घीय सरकारमा कांग्रेसको भूमिका प्रभावकारी बनाउनुपर्ने लगायतका सुझाव दिए।

प्रमुख सचेतक घिमिरेका अनुसार, बैठकमा बजेट, विकास र नियुक्तिका विषयमा सांसदहरूले सक्रिय छलफल गरे। बैठकले सांसद चन्द्रकान्त भण्डारीको स्वास्थ्यलाभको कामना गर्दै दुई वटा शोक प्रस्ताव पारित गरेको उनले जानकारी दिए।