जनताको पक्षमा काम गर्ने पार्टी माओवादी केन्द्र मात्र हाे: अध्यक्ष प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतासँगको सम्बन्ध सुदृढ गर्न मध्यपहाडी लोकमार्ग केन्द्रित जनअभियान सञ्चालन गरिएको बताएका छन्।
उनले स्थानीयतालाई संरक्षण र प्रवर्द्धन गर्दै जनताको पक्षमा काम गर्ने पार्टी माओवादी केन्द्र नै रहेको दाबी गरे।
अभियान अन्तरगत सुर्खेतको राकम कर्णालीमा आइतबार आयोजित जनसंवाद कार्यक्रममा उनले सुशासन प्रवर्द्धन गर्न र आवश्यकता परे भ्रष्टाचारविरुद्ध नयाँ आन्दोलनको वातावरण बनाउन पनि यो अभियान गरिएको बताए।
सरकारमा हुँदा माओवादी केन्द्रले सामाजिक न्याय र सुशासनका लागि भ्रष्टाचारविरुद्ध दृढताका साथ संघर्ष गरेको भन्दै प्रचण्डले अहिलेको अभियान त्यसै राजनीतिक संघर्षको निरन्तरता भएको बताए।
यो अभियान जनताको प्रत्यक्ष सहभागिता र भावनालाई आधार मानेर अघि बढाइएको उनले बताए। गरिब,किसान,मजदुर,उत्पीडित समुदाय, सहिद परिवार,बेपत्ता व्यक्तिका आफन्त, जनयुद्धका घाइते तथा अपाङ्ग नागरिकहरूसँग भेटघाट गर्दै अभियान अगाडि बढाइएको उको भनाइ थियो।
