रसुवामा ठुलो परिमाणमा सुन सहित एक जना पक्राउ
रसुवा। रसुवामा ठुलो परिमाणमा तस्करीको सुन सहित एक जना पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय, रसुवाले उक्त सुन बरामद गरेको हो। बरामद सुनको तौल कार्य भइरहेको र परिमाणबारे विस्तृत विवरण खुलाइएको छैन। तर, सो सुन ७ केजी भन्दा बढी रहेको अनुमान गरिएको छ।
केरुङबाट काठमाडौंतर्फ आउँदै गरेको स्याउ बोक्ने गाडीमा सो सुन भेटिएको हो। उक्त गाडीका चालक २४ वर्षका किशोर भुजेललाई पनि प्रहरीले पक्राउ गरेको छ। उनी पनि रसुवाकै हुन्।
पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुन तस्करीविरुद्ध प्रहरीको निगरानी बढेसँगै उत्तरी नाकाबाट सुन तस्करीको क्रम बढेको छ।
विमानस्थलमा वैदेशिक रोजगारीमा गएकाहरूलाई प्रयोग गरी सानो परिमाणमा सुन सङ्कलन गर्ने प्रवृत्ति छ भने उत्तरी नाकाबाट किलोको परिमाणमा तस्करी हुने गरेको छ। तस्करीको अधिकांश सुन भारततर्फ जाने गरेको प्रहरीको भनाइ छ।
