मनसुनजन्य विपद् प्रतिकार्यको तयारीमा जुट्न गृहमन्त्री लेखकको निर्देशन

फाइल तस्बिर

काठमाडौ।गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद्को प्रतिकार्यका लागि तयारी अवस्थामा रहन सशस्त्र प्रहरी बललाई निर्देशन दिएका छन्।

सशस्त्र प्रहरी बल नेपाल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा सञ्चालित छैटौँ समूहको गोताखोर तालिमको आज समापन गर्दै उनले तालिमका क्रममा सिकेका सीपको प्रयोग गरी अप्ठ्यारोमा परेका नागरिकको सेवामा दत्तचित्त भएर लाग्न निर्देशन दिए।

गृहमन्त्री लेखकले सङ्घ, प्रदेश र स्थानीय सरकारसँग समन्वय र सहकार्य गर्दै विपद् जोखिम न्यूनीकरणमा लाग्न जरूरी रहेको बताए।

जोखिम न्यूनीकरणका लागि स्थानीय तथा प्रदेश सरकारलाई सक्षम बनाउँदै लैजानुपर्ने आवश्यकता औँल्याउँदै उनले जोखिममा परेका नागरिकको जीउधनको सुरक्षा, राहत तथा पुनःनिर्माणमासमेत सबै सुरक्षा निकाय तथा स्थानीय तहले हातेमालो गरेर अघि बढ्नुपर्ने बताए।

बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले सशस्त्र प्रहरी कर्मचारीले तालिममा हासिल गरेका ज्ञान, कला र सीपलाई कार्यक्षेत्रमा खटिँदा सदुपयोग गर्दै आपत विपत्तमा परेका नागरिकको उद्धार कार्यमा आफ्नो ज्यानको प्रवाह नगरी दिएको योगदान प्रशंसनीय रहेको बताए।

उनले सशस्त्र प्रहरी कर्मचारीले गरेका हरेक क्रियाकलापले आमनागरिकमा भरोसा पैदा गरेको जनाउँदै उहाँले आमनागरिकले आगामी दिनमा पनि यस्तै कामको अपेक्षा गरेको बताए।