पूर्वडीएसपी पन्थीले उठाएको भिजिट भिसा प्रकरणमाथि गृहले थाल्यो अनुसन्धान

काठमाडौं। नेपाल प्रहरीका पूर्वडीएसपी गोविन्द पन्थीले भिजिट भिसा प्रकरणमा अनुसन्धान प्रभावित पारिएको भनि गरिएको खुलासाबारे गृह मन्त्रालयले आन्तरिक छानबिन थालेको छ। पूर्वडीएसपी गोविन्द पन्थीले उठाएको विषयमा मन्त्रालयले आन्तरिक छानबिन थालेको गृह मन्त्रालय स्रोतले जनाएको छ।

सामाजिक सञ्जालमार्फत पन्थीले भिजिट भिसामा हुने भ्रष्टाचारको अनुसन्धान गर्दा आफ्नो सरुवा भएको उल्लेख गरेका थिए। तत्कालीन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल प्रहरीका तत्कालीन आइजी बसन्त कुँवरको जोडबलमा आफ्नो सुरुवा हुँदा अनुसन्धान प्रभावित भएको पन्थीको आरोप छ। भिजिट भिसा प्रकरणमा तत्कालीन प्रधानमन्त्रीको सचिवालय टीम पनि अनुसन्धानको दायराम आउने बताएका छन्।

अध्यागमनमा हुने अनियमिततामाथि अधिकार सम्पन्न न्यायिक आयोग गठन गरी अनुसन्धान गर्दा एकाधबाहेक सबै गृह मन्त्री, श्रम मन्त्री र प्रधानमन्त्रीको सचिवालयको टोलीसमेत कानुनी कठघरामा उभिनु पर्ने स्थिति आउने उनको दाबी छ ।

पन्थीका अनुसार २०८० को असोज १९ गते १ हजार ६ सय ४१ वटा राहदानीसहितको शङ्कास्पद कागजात उपत्यका अपराध अनुसन्धान कार्यालयमा आएको थियो । त्यसको प्रारम्भिक अनुसन्धान मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले थालेको थियो। तर पछि त्यसलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयमा हस्तान्तरण गरिएको थियो।

प्रारम्भमा कागजातहरू ३ नं पिलरमा गएकाले अनुसन्धानमा प्रगति नहुँदा एसएसपी सोमेन्द्र सिंह राठौरको निर्देशनमा पन्थीको टोलीलाई त्यसको अनुसन्धान गर्ने जिम्मा लगाइएको थियो। अनुसन्धान भइरहेकै बेला आफ्नोको सरुवाका गरेर अनुसन्धान रोक्ने काम भएको उहाँको भनाइ छ।

पन्थीले भिजिट भिसाको १७ बुँदे मापदण्डलाई तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठको पालामा नै ६ बुँदे बनाइएको परिणाम नेपाल सरकारले जोखिमयुक्त भनेका देशमा समेत नेपाली कामदार पुगेर अलपत्र परेको तथ्य पनि सार्वजनिक गरेका छन्।