गभर्नर पौडेलविरुद्धको रिटमा पेशी आज

काठमाडौं।नेपाल राष्ट्र बैंकका नविनयुक्त गभर्नर विश्वनाथ पौडेलविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको पेशी बुधबार हुँदैछ। अधिवक्ता अनन्तराज लुइँटेल, विशाल थापा र प्रतिभा उप्रेतीले पौडेलको नियुक्ति बदरको माग गर्दै मंगलबार रिट दर्ता गरेका हुन्।

नेपाल राष्ट्र बैंक ऐन-२०५८ ले अनिवार्य गरेको विज्ञता नभएको व्यक्तिलाई गभर्नर नियुक्त गरिएको भन्दै उनीहरूले रिट दायर गरेका हुन्। पौडेललाई गभर्नरमा सिफारिस, नियुक्ति तथा शपथसमेत गराउने निर्णय गैरकानूनी भएको जिकिर रिटमा गरिएको छ।

गम्भीर राष्ट्रिय महत्त्वको विषयमा राष्ट्रलाई नै असर पर्ने गरी गभर्नरको हैसियतले कुनै पनि दूरगामी कार्य सम्पादन नगर्नरनगराउन ‘प्रतिषेध मिश्रित परमादेश’को माग अधिवक्ताहरूले गरेका छन्।

गभर्नर नियुक्त नहुँदै पौडेलको नियुक्ति रोक्न माग गर्दै उनीहरू रिट लिएर सर्वोच्च अदालत पुगेका थिए। प्रशासनले रिट दरपिठ गरिदिएकोमा इजलासले पनि सदर गरेको थियो।