गृहमन्त्रीलाई काँग्रेस एमालेकाे दरिलो साथ, बिना गल्ती राजिनामा नदिने,डटेर सामना गर्ने(भिडियाे)
काठमाडौं। भिजिट भिसा प्रकरणमा अध्यागमनका कर्मचारीको बदमासीमा गृहमन्त्री रमेश लेखकलाई जोडेर विवादित बनाउने प्रयासविरुद्ध नेपाली कांग्रेस संस्थागतरूपमा उभिएको छ।
अध्यागमन विभागअन्तर्गतको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका कर्मचारीले भिजिट भिसामा मानिस विदेश जाँदा गर्ने गरेको आर्थिक चलखेल र सेटिङमा गृहमन्त्रीको कुनै संलग्नता नरहेको निष्कर्ष निकालेको हो।
केही नेताले प्रश्न उठाएपछि गृहमन्त्री लेखकले ‘कर्मचारीले बदमासी गरेको थाहा पाएपछि हटाएको हुँ, मेरो कुनै संलग्नता छैन’ भन्ने जवाफ दिए । आफूलाई राजनीतिक रूपमा बदनाम गर्न खोजिएको भन्दै उनले पार्टीले जे भन्छ, त्यही गर्ने बताए।
सभापति शेरबहादुर देउवाको बूढानीकण्ठस्थित निवासमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकमा नेताहरूले लेखकको कुरा सविस्तार सुने । अनि गृहमन्त्रीप्रति विश्वस्त रहेको निष्कर्ष निकालेको जानकारी प्रवक्ता डा। प्रकाशशरण महतले दिए ।
गृहमन्त्रीले सविस्तारपूर्वक भिजिट भिसा प्रकरणमा मेरो कुनै संलग्नता छैन भनेर कुरा राख्नुभयो । हामीले उहाँको कुरालाई पूर्ण रूपमा विश्वास गर्यौं,’ महतले भने, ‘जो संलग्न छन्, निष्पक्ष छानबिन गरेर कारबाही गर्नुपर्छ । हामी भिजिट भिसा दुरुपयोग गर्नेमाथि कारबाही हुनुपर्छ भन्ने मान्यतामा छौं । यसैले गृहमन्त्रीप्रति हामी विश्वस्त छौं ।
बैठकमा लेखकले बोलेपछि सभापति देउवा र उपसभापति पूर्णबहादुर खड्काले ढाडस दिएको एक पदाधिकारीले जानकारी दिए।सभापति देउवाले २०४८ सालमै गृहमन्त्री हुँदा पनि यस्ता समस्या सामना गरेर आएको बताएका थिए ।
‘समस्या हुन्छन् । म गृहमन्त्री हुँदा २०४८ सालमा पनि केही समस्या आएका थिए,’ देउवाले विषय उल्लेख नगरी बैठकमा भनेका थिए, ‘यसैले समस्यासँग लड्ने हो, समाधान गर्ने हो,यसबाट भाग्ने होइन । गल्ती नगरेको विषयमा डराउनु हुँदैन ।
देउवाले गृहमन्त्री हुँदा संसदमा ‘गोलीको आँखा हुँदैन’ भनेर बोलेको विषयमा त्यतिखेर विवाद भएको थियो । देउवाले त्यसै प्रसंगतर्फ इंगित गरेको एक नेताले जानकारी दिए ।
प्रतिपक्षमा हुँदा २०४८ सालमा एमालेले सडक आन्दोलन गरेको थियो । यही आन्दोलनका क्रममा प्रहरीको गोली लागेर १३ वर्षीया सम्झना दाहाल र ७ वर्षका अनिश शाक्यको मृत्यु भएको थियो ।
तर, प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र र विपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीले भने गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गरेका छन् । गृहमन्त्रीले जवाफ दिने मंगलबारको संसद् बैठकलाई बिथोल्ने तयारीमा समेत प्रतिपक्षी र विपक्षी पार्टी छन्।

